काठमाडौं । द एक्सपोर्ट एन्ड इम्पोर्ट बैंक अफ चाइना (एक्जिम) बैंकले सनिमा बैंक लिमिटेडलाई मनाङ मर्स्याङ्दी हाइड्रोपावर प्रालि (१३५ मेघावाट)–१ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रालि (१२० मेघावाट)–१ समेत २ जलविद्युत् आयोजनाका लागि वित्तीय सहजीकरण/मध्यस्थकर्ताको रुपमा कार्य गर्न नेपालका लागि एजेन्ट बैंक नियुक्त गरेको छ । तदनुसार एक्जिम बैंकको चीनस्थित सिचुआन शाखामा आयोजित एक विशेष कार्यक्रममा सानिमा बैंक लिमिटेड र एक्जिमबीच सम्झौतामा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ ।
उक्त सम्झौतामा सानिमा बैंक (एजेन्ट बैंक)का तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र एक्जिमको तर्फबाट एक्जिम शाखाकी उपाध्यक्ष यु यान उहीले हस्ताक्षर गरेका हुन् । उक्त विशेष कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे, एक्जिम बैंक सिचुआन शाखाका अध्यक्ष चेन श्रेङ गोन र एसजीआईसी इन्टरनेसनलका अध्यक्ष लिआयो वीन समेतको उपस्थिति रहेको थियो ।
सो समारोहलाई सम्बोधन गर्दै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले एजेन्सी बैंकको रुपमा कार्य गर्न सानिमा बैंकलाई विश्वास गरी छनोट गरेकोमा सबै सरोकारवालाहरूप्रति आभार व्यक्त गरे । साथै, एक्जिम बैंकसँगको महत्वपूर्ण सहकार्यले सानिमा बैंकको अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध विस्तार भई व्यापार प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । उनले ऊर्जा जलविद्युत्, व्यापार पूर्वाधारलगायतका क्षेत्रमा यस्ता सहकार्यले नेपालका लागि महत्वपूर्ण योगदान गर्ने अपेक्षा समेत व्यक्त गरे ।
त्यसैगरी एक्जिम र मुख्य लगानीकर्ता कम्पनीका प्रतिनिधिहरूले परियोजना समयमै सम्पन्न गर्न सहजीकरण गर्ने संयुक्त प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यको लागि सानिमा बैंकको भूमिका महत्वपूर्ण हुने कुरा व्यक्त गर्र्दै यी परियोजनावाट प्राप्त अनुभवबाट भविष्यमा अन्य क्षेत्रमा पनि यस किसिमका सहकार्य गर्न उक्त परियोजनाहरू कोशेढुंगा साबित हुने विचार व्यक्त गरे ।
साथै, यी परियोजना सफल बनाउन हालसम्मकै ठूलो परिमाणमा चाइनिज मुद्राको अन्तरदेशीय कारोबार नेपालमा भित्र्याउन सानिमा बैंक सफल भएको छ र यस्ता कार्यले आगामी दिनमा बैंकको कार्य क्षमता बढ्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सानिमा बैंकको साख वृद्धि हुने तथा देशको दिगो विकासमा महत्वपूर्ण टेवा पुर्याउने देखिन्छ ।