पोखरा, पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा संलग्न अभियुक्त तथा पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन जिल्ला अदालत कास्कीबाट १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।सहकारी ठगी अभियोगमा पक्राउ पुर्जी जारी भएपछि लामो समयदेखि फरार रहेका बम्जन आइतबार अदालतमा हाजिर भएका थिए। न्यायाधीश शंकरकुमार राईको इजलासमा बयानपछि १० लाख धरौटी माग गरिएको र उक्त रकम बुझाएपछि उनी रिहा भएका हुन ।
बम्जन सहकारी ठगी प्रकरणका मुख्य योजनाकार तथा तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीवी) राईका जेठान हुन्। २०६५ सालतिर पोखरामा सहकारीको सञ्जाल विस्तार गर्ने उद्देश्यले बम्जनसहितको समूहले सूर्यदर्शन सहकारी स्थापना गरेको थियो। सहकारीलाई अगाडि बढाउने क्रममा उनीहरूले पूर्व गोर्खा सैनिकमार्फत सदस्य संकलन गरेका थिए।
सहकारीको सुरुवाती दिनमा बम्जनमाथि २६ लाख ७० हजार ८७१ रुपैयाँ ठगी गरेको आरोप थियो। तर, उनी अध्यक्ष रहँदा संयुक्त रूपमा १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ अपचलन गरेको थप अभियोग दायर गरिएको छ।२०६५ भदौ २७ गते पहिलो साधारणसभाबाट बम्जन अध्यक्ष बनेका थिए भने २०६७ पुस ६ गतेको तेस्रो साधारणसभामा जीवी राई अध्यक्षमा निर्वाचित भएका थिए। सहकारी ठगी प्रकरणमा संस्था र व्यक्ति गरेर ६३ जनाविरुद्ध अभियोजन दायर गरिएको छ। २०८० असोज १८ गते जिल्ला अदालत कास्कीमा दायर मुल मुद्दामा १ अर्ब ५१ करोड रुपैयाँ बिगो दाबी गरिएको छ।