पछिल्लो केही समययता व्यापार घाटाको अंक घट्दै गएको छ । निश्चय नै यो राम्रो संकेत हो । व्यापार घाटाको अंक घट्नु भनेको निर्यात व्यापारमा वृद्धि हुनु हो । यस्तो हुँदा चौतर्फी प्रभाव पर्छ वा पर्नुपर्ने हुन्छ । जस्तोः निर्यातयोग्य वस्तुको उत्पादन बढ्नु, ती वस्तुले अन्तर्राष्ट्रिय बजारमा आफ्नोे पहिले कायम रहेको अवस्थामा वृद्धि हुनु, त्यस्तै प्रकृतिका अन्य देशका वस्तुलाई नेपालले उछिन्दै जानु आदि । यस्तो व्यापार वृद्धि भयो भने सबैभन्दा लाभ देशलाई नै हुन्छ । देशभित्र नै रोजगारीका अवसरहरू सिर्जना हुन्छन् । विदेशी मुद्रा सञ्चितिमा वैदेशिक रोजगारी मात्र विकल्पजस्तो रहेको अवस्थामा निर्यात व्यापार वृद्धिले त्यसमा पनि एउटा अर्को विकल्प बन्न सक्ने हुन्छ । तर सवाल के हो भने आयात–निर्यात व्यापारमा निर्यातको मात्रा बढे पनि धेरै सानो भाग रहने हुँदा त्यो जति बढे पनि धेरै ठूलो आकार बन्न सक्तैन । यता आयातको अंकचाहिँ धेरै गुनाले ठूलो रहने गरेको हुँदा निर्यात बढेको देखिए पनि मात्रामा भने धेरै प्रभाव परेको देखिँदैन । यो पनि एउटा चुनौती नै हो, जसलाई सन्तुलनमा ल्याउन धेरै गाह्रो पर्छ ।
गएको वर्षको साउन महिनामा १२ अर्ब २२ करोडको वस्तु निर्यात भएकोमा चालू वर्षको यो महिनामा २३ अर्ब ९३ करोडको निर्यात भएको सरकारी आँकडाले देखाएको छ । वृद्धिको यो अंक झण्डै दोब्बरले बढी हो । यसले कुल वैदेशिक व्यापार १८ दशमलव ७५ प्रतिशतले वृद्धि हुँदा निर्यातमा पनि उल्लेख्य वृद्धि भयो नै तर निर्यात दोब्बरले बढ्दा व्यापार घाटा भने साढे दुई प्रतिशतले मात्रै बढेको देखिन्छ । अझै पनि वैदेशिक व्यापारमा निर्यातको भाग १४ दशमलव ३३ प्रतिशत र आयातको हिस्सा ८५ दशमलव ६७ प्रतिशत नै कायम छ जसले व्यापार घाटा घटाउनलाई धेरै ठूलो योगदान गराउँदैन । जस्तोः चालू आर्थिक वर्ष ०८२/८३को पहिलो महिना साउनमा एक खर्ब ६६ अर्बको वैदेशिक व्यापार अर्थात् आयात–निर्यात भयो, जसमा व्यापार घाटा भने एक खर्ब १९ अर्बमा नै रह्यो । अहिले पनि सवा खर्बको आयात हुँदा निर्यात भने करिब २४ अर्ब अर्थात् एक चौथाइकै मात्रामा रहेको देखिन्छ । यो भनेको हात्ती दुब्लाएको र मुसो मोटाएको उखानसँग मिल्दोजुल्दो कुरा हो । तैपनि जे–जति मात्रामा होस् निर्यात बढेको अवस्थालाई सकारात्मक नै मान्नुपर्छ । सवाल हो, जे–जति मात्रामा निर्यात बढेको देखिँदैछ त्यसलाई अझ बढाउनु र त्यसो हुन सकेन भने घट्नचाहिँ नदिनु पनि उपलब्धि नै मान्नुपर्ने हुन्छ ।
निर्यात व्यापारको अर्को चुनौती भनेको यो कुन दिन धराशायी हुन्छ भन्ने चिन्ताग्रस्त अवस्था पनि हो । जस्तोः भटमास र त्यसको तेलमा आयात र निर्यातको अवस्था करिब–करिब समान हुँदै जानु । पहिले यस्तो थिएन । अहिले यो समान हुन थालेको छ । पहिलेदेखि नै मुलुकको निर्यात व्यापारमा भटमासको तेलको हिस्सा अरुभन्दा ठूलो थियो र अहिले पनि छ । तर यता यसको आयात र निर्यातको अंक भने मिल्दोजुल्दो अवस्थामा देखा पर्दैछन् । भन्सार विभागका अनुसार गएको साउनमा १० अर्ब ८० करोड रुपैयाँको कच्चा भटमासको तेल आयात भएको थियो भने प्रशोधन गरेर १० अर्ब ६९ करोड रुपैयाँको निर्यात भएछ । यो भनेको आयातभन्दा निर्यात करिब ११ करोडको अन्तर हो । तेस्रो देशबाट कच्चा तेल ल्याउने र सामान्य प्रशोधन गरेर भारत निर्यात गर्ने सामान्य प्रचलन हो । यसमा अझ धक्का पुग्यो भने निर्यात व्यापार के होला अनुमान गर्न सकिन्छ । त्यसमाथि जुन देशमा यो वस्तु बढी निर्यात हुन्छ, उसको अलिकति नीति बदलिनासाथ मुलकले त्यसको मूल्य निर्यात घटेको अवस्थाबाट तिर्नुपर्छ । यसको दिगो वैकल्पिक उपाय बेलैमा खोजौँ ।