ललितपुर । ललितपुरको गोदावरी–१२ ठेचोमा नेपाल सविकाई कराते डो टेसिनकाई कराते क्लबले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सरकारको युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएकी उर्मिला नेपाल के.सी.लाई बधाई दिइएको हो ।
बधाई कार्यक्रममा वक्ताहरूले खेलकुद र राजनीतिमा महिलाको सक्रिय सहभागिताले समाजलाई अगाडि बढाउने बलियो आधार तयार गर्ने भन्दै मन्त्री नेपालको नेतृत्वले प्रदेश र राष्ट्रियस्तरमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेपालले खेलाडीहरूको हकहित र विकासका लागि ठोस कदम चालिने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्, ‘प्रदेश सरकारले खेल नीतिलाई अझ सुदृढ बनाउने छ । खेलाडीहरूको भविष्य सुरक्षित गर्न ठोस कार्ययोजना अघि सारिनेछ ।’ साथै, उनले ठेचो क्लबको भवन निर्माणमा समेत प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन दिइन् ।
क्लबका अध्यक्ष रिजन महर्जनले खेलकुदलाई स्वास्थ्य, आत्मबल र राष्ट्रिय गौरवसँग जोड्ने आफ्नो संस्थाको उद्देश्य प्रष्ट पार्दै मन्त्री नेपालको उपस्थितिलाई प्रेरणादायी उदाहरणका रूपमा व्याख्या गरे । त्यस्तै, शाखा प्रमुख राम महर्जनले मन्त्रीलाई सफल राजनीतिक यात्राको शुभकामना दिँदै खेलमैत्री नीतिलाई अझ मजबुत बनाउन आग्रह गरे ।
कार्यक्रममा स्थानीय समाजसेवी, खेलकर्मी, विद्यार्थी, खेलप्रेमी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति थियो । सहभागीहरूले मन्त्री नेपालको आगामी कार्यकाल युवामुखी र खेलमैत्री हुने अपेक्षा व्यक्त गरे । नेपाल सविकाई कराते डो टेसिनकाई कराते ठेचो डोजो क्लबले यसअघि पनि विभिन्न प्रशिक्षण, प्रतियोगिता र सामाजिक अभियान सञ्चालन गर्दै आएको स्मरण गर्दै, खेललाई सामाजिक चेतना र स्वास्थ्य प्रवर्द्धनसँग जोड्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ । यसरी सम्पन्न बधाई तथा सम्मान कार्यक्रमले खेल र राजनीतिबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने स्पष्ट सन्देश प्रवाह भएको आयोजकले जनाएको छ ।