काठमाडौं । नेपाल र भियतनामबीच व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थी आन्ह जुआनसमक्ष काठमाडौंमा छलफल गरेको छ ।
भियतनामका अनररी कन्सुल एवम् चेम्बरका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको उपस्थितिमा आयोजित छलफलमा दुवै देशबीचको व्यापारिक पहुँच विस्तार, लगानीमैत्री वातावरण निर्माण, उद्योग–व्यवसाय प्रवर्द्धन तथा आपसी सहकार्यका सम्भावनाबारे बहस भएको छ । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा भएको भेटलाई चेम्बरले व्यापार, लगानी र आर्थिक साझेदारीको नयाँ अध्याय सुरु गर्ने महत्वपूर्ण सम्भावनाको रुपमा हेरेको छ । उपराष्ट्रपति जुआनले चेम्बर र भियतनामबीच द्विपक्षीय व्यापार विस्तार तथा लगानी प्रवाहलाई सहज बनाउन दुवै देशका निजी क्षेत्रबीच घनिष्ठ समन्वय आवश्यक रहेको बताइन् ।
उपराष्ट्रपति आन्ह जुआनले नेपाल र भियतनामबीचको आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउन दुवै देशका निजी क्षेत्रको सक्रियता अपरिहार्य हुनेमा जोड दिएको चेम्बरले जनाएको छ । उनले चेम्बर प्रतिनिधिहरु समक्ष भियतनामको भ्रमण गर्न र सम्भावित लगानीका क्षेत्रमा भियतनामको चेम्बरसँग सहकार्य गर्न सुझाव दिएकी थिइन् । चेम्बरले नेपाल–भियतनामबीच कृषि, पर्यटन, ऊर्जा, शिक्षा र सूचना प्रविधिजस्ता क्षेत्रमा सहयोग तथा साझेदारीको अपार सम्भावना रहेको भन्दै व्यावहारिक कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएको छ । चेम्बरले भियतनामसँगको आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । छलफलमा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, वरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्रा, महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठसहितका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।