मुस्ताङ । यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५ स्थित फल्याकमा गाउँपालिकास्तरीय ‘प्रथम अध्यक्ष कप’ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । यहाँ आयोजित हाइअल्टिच्युड सेभेन ए साइड फुटबलतर्फ वारागुङ(२ को युथक्लब (झोङ) र आर्चरी प्रतियोगितातर्फ जनप्रिय युवा क्लब (मुक्तिनाथ) विजयी भएका छन् ।
फुटबलको फाइनल प्रतिस्पर्धामा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ स्थित जनशान्ति माध्यमिक विद्यालयलाई टाइब्रेकरमा ४(३ गोलअन्तरले पराजित गर्दै झोङ युथक्लब उपाधिको च्याम्पियन बनेको हो । प्रतियोगितामा काग छोेदे गुम्बाको फुटबल समूहले तृतीय स्थान हासिल गरेको छ ।
गाउँपालिकाअन्तर्गतका कूल ११ समूहको सहभागिता रहेको फुटबल प्रतियोगिता २०र२० मिनेट गरी ४० मिनेटको समय निर्धारण गरी नकआउट चरणमा सञ्चालन गरिएको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी झोङ युथक्लबका सन्तोष श्रीस र सर्वोत्कृष्ट गोल किपर झोङकै छिरिङ धावा गुरुङ भएका छन् । यसैगरी सर्वाधिक गोलकर्ता जनशान्ति माध्यमिकका खेलाडी सन्तोष नेपाली घोषित भएका हुन् ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको आयोजना तथा सेर्घुङ ल्हुङ्बुग युथक्लब फल्याकको सहआयोजनामा बिहीबारदेखि सुरु भएको प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरी (धनुषवाण) तर्फ जनप्रिय युवाक्लब (मुक्तिनाथ)ले निर्धारित १५ डोरअर्थात् १५० पूर्णाङ्कमा १४१ अङ्कको योगफल जोड्दै च्याम्पियन बनेको हो । क्लबलाई पछ्याउँदै निर्धारित १५ डोरमा १३७ अङ्कको योगफल जोड्दै सेर्घुङ ल्हुङ्बुग युथक्लब (फल्याक) उपविजेता बनेको छ भने थोरङ्लापास युथक्लब (खिङ्गा) तेस्रो भएको छ ।
आर्चरीतर्फ सेर्घुङ ल्हुङ्बुग र थोरङ्लापास युवाक्लबको समान (१३८) अङ्कको योगफल भएपछि दुवै समूहलाई थप एक डोर थपिएको थियो । थपिएको अतिरिक्त डोरमा सेर्घुङ ल्हुङ्बुगले आठ अङ्क र थोरङ्लापासले सात अङ्क जोडेका हुन् ।
आर्चरीतर्फ जनप्रिय युवाक्लबका छिरिङ नर्बु गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका छन् भने सवार्धिक अङ्क जोड्न सफल जनप्रियका अम्रित गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । आर्चरीतर्फ वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गतका कूल १६ समूहको सहभागिता रहेको आर्चरी खेल संयोजक छिरिङ ङुटुक गुरुङले राससलाई जानकारी दिए ।
प्रथम गाउँपालिकास्तरीय लामो दूरीको घोडा दौड प्रतियोगितामा वारागुङ मुक्तिक्षेत्र–१ झारकोटका नम्डुल गुरुङको ‘धुङ्कर’ घोडा प्रथम भएको छ । शनिबार सम्पन्न घोडा दौड प्रतियोगितामा गुरुङको घोडाले निधारित पाँच किलोमिटरको दूरी छ मिनेटमा पूरा गर्दै च्याम्पियन बनेको वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार वारागुङ-२ छेङ्गुरबाट ‘पुनम’नामक घोडाले निर्धारित दूरी छ मिनेट ३० सेकेण्डमा पूरा गर्दै दोस्रो भयो भने वारागुङ-१ खिङ्गाका निमा धोर्जे गुरुङको घोडा तेस्रो भएको हो ।
अध्यक्ष कप खेलकुद प्रतियोगिताअन्तर्गत महिलाका लागि डोरी तान्ने र घैटो फुटाउने खेल समावेश गरिएको थियो । फुटबल प्रतियोगिताको उपाधि च्याम्पियन बनेको युथक्लब झोङले ६० हजार नगदसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । उपविजतेता जनशान्तिले नगद ३५ हजार र तेस्रो भएको कागछोदे गुम्बा विद्यालयले २० हजार पुरस्कारसहित मेडल र प्रमाणपत्र हात पार्यो ।
आर्चरी प्रतियोगिताको च्याम्पियन बनेको जनप्रिय युवाक्लब (मुक्तिनाथ)५० हजार पुरस्कारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता सेर्घुङ ल्हुङ्बुग युवाक्लबले ३५ हजार र तेस्रो हुने थोरङ्पास युवा क्लबले २० हजार पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका आयोजकले जनाएको छ ।
घोडा दौडतर्फको विजेताले ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुनेले ३५ हजार र तेस्रो हुनेले २० हजार पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका वडाध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतियोगिताका विजेता सहूहलाई गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङ, उपाध्यक्ष दिकी गुरुङ, वडाध्यक्ष गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए । यहाँ आयोजित खेलकुद प्रतियोगितामा सफलता प्राप्त गरेसँगै विभिन्न क्लब, आमा समूह र गाउँलेले स्थानीय भाषामा गीत गाउँदै खुसीयाली साटासाट गरेका थिए । मुस्ताङमा आन्तरिक खेलकुद प्रतियोगितालाई स्थानीयहरूले प्रतिष्ठाका रूपले लिने गर्छन् ।