वीरगञ्ज, वीरगञ्जमा झाडापखालाका लक्षण देखिएका मध्ये ७१ जनामा हैजा पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै यो जानकारी दिएका छन्। भदौ ७ गतेसम्म वीरगञ्ज महानगरपालिका वडा नं. ३, ११, १२, १३ र १६ का १९४ जनामा झाडापखालाका लक्षण देखिएर अस्पताल पुगेका थिए। हाल विभिन्न स्वास्थ्य संस्थामा ९५ जना बिरामी उपचाररत छन्, जसमा २२ आईसियु र ६७ एचडीसीयुमा उपचारमा रहेका छन्। डा. बुढाथोकीका अनुसार बारम्बार पानीजस्तो पातलो दिसा, बान्ता, अत्यधिक तिर्खा, मुख सुक्ने, छाला चाउरिने, शरीरमा डिहाइड्रेसन, कमजोरी, थकाइ, पिसाब कम हुनु, रगतचाप घट्नु, मुटुको धड्कन तेज हुनु र बेहोस हुनु हैजाका प्रमुख लक्षण हुन्। मन्त्रालयले सर्वसाधारणलाई सचेत गराउँदै पिउने पानी उमालेर वा क्लोरिन प्रयोग गरी मात्र प्रयोग गर्ने, व्यक्तिगत तथा खानेकुराको सरसफाइमा ध्यान दिने, खुला स्थानमा दिसा नगर्ने, चर्पी प्रयोग गर्ने र हात साबुन पानीले धुन अनिवार्य रहेको सुझाव दिएको छ।