काठमाडौं ।खासगरी आर्थिक सूचकांकमा सरकारले जे देखाउँछ बजारमा भने त्यसको उल्टो अवस्था प्रकट भइरहेका हुन्छन् । सरकार महँगी घटेको भन्छ तर बजारमा यही समयमा सबैभन्दा बढी हुनेगरी महँगी बढेको देखिन्छ । सरकार वस्तुको आपूर्ति सहज भएको भन्छ तर यहीबेला खासगरी जनताले उपभोग गर्ने अत्यावश्यक वस्तुहरू बजारबाट गायब हुन्छन् वा परिन्छन् । अनि ती वस्तु बजारमा आउँदा महँगी छोइनसक्नुको हुन्छ । त्यसबेला जनता भने महँगीले होइन वस्तु पाएकोमा खुशी हुनेगरेका देखिन्छन् । अत्यावश्यक वस्तुहरूको मूल्यभन्दा तिनको आपूर्तिले अर्थ राख्छ । जस्तो दशैँँका बेला माछामासु र तिहारका बेला चिनीजस्ता कुरा । यो समय यिनको खपत बढी हुने भएकाले व्यापारीहरूले जानाजान अभाव बनाउँछन् र बढी मूल्य असुल गर्छन् । यो कुनै एक वर्षको मात्र कुरा होइन, सधैँ दोहोरिई नै रहेका पाइन्छ । यसबाट के प्रश्न उठ्छ भने सरकार आर्थिक अवस्था सुधारिएको त भन्छ तर त्यसको अनुभूति भने दिलाउन सत्तैmन ।
अर्थको सूचकांकमा गएको वर्ष बजारमा मूल्यवृद्धि घटेको देखिएको छ । यो कुनै एउटामा मात्र होइन सबैजसो खाद्य वस्तु तथा सेवाहरूमा मूल्यवृद्धि घटेको अंकले देखाएका छन् । तर यता बजारमा भने तिनै वस्तुको महँगी दर बढेको आम नागरिकले महसुस गरेका अवस्था छ । सरकारी तथ्यांकले दैनिक उपभोग्य वस्तुहरूको मूल्य घटेको बताइरहँदा खाद्यान्न, तरकारी तथा फलफूल र सेवा क्षेत्रअन्तर्गत शिक्षा र स्वास्थ्य क्षेत्रमा विगतको भन्दा यतिबेला अत्यधिक मूल्यवृद्धि भएको नै देखिन्छ । यो कुरा उपभोक्ताहरूले दिनहुँ गर्ने गुनासोमा प्रकट हुन्छ । यही बेला राष्ट्र बैंक भन्छ, ‘गत वर्षको १२ महिनामा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव छ प्रतिशतमा कायम भएको छ । यो भनेको अघिल्लो वर्षको यो अवधिमा रहेको भन्दा कम हो । अघिल्लो वर्षको यो अवधिमा उपभोक्ता मुद्रास्फीति दर पाँच दशमलव ४४ प्रतिशत थियो । यो तथ्यांकले अघिल्लो वर्षको तुलनामा मुद्रास्फीति दर एक प्रतिशतले घटेको छ । राष्ट्र बैंक नै भन्छ, २०८२ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव २० प्रतिशत रहेको छ । २०८१ असार महिनामा यस्तो मुद्रास्फीति तीन दशमलव ५७ प्रतिशत रहेको थियो ।
यही आधारमा राष्ट्र बैंकले बजारमा वस्तु तथा सेवाको महँगी दर विगतका वर्षमा भन्दा नियन्त्रणमा रहेको भनेको हुनुपर्छ । बैंकको तथ्यांकले त्यस्तो देखाए पनि त्यसको प्रभाव वजारमा प्रकट नभएसम्म उपभोक्ता त्यसबाट लाभान्वित हुँदैनन् । त्यसै कारण यस्ता तथ्यांकले बजारलाई प्रभाव पार्न नसकेको भनिएको हुनुपर्छ । यसो भनेर अर्थका सूचकांकहरू सबै असत्य छन्, भन्न खोजिएको भने होइन । यतिबेला भुक्तानी सन्तुलन र चालू खाता बचतमा छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८१÷८२मा चालू खाता चार खर्ब नौ अर्ब २० करोडले बचतमा देखिएको छ । अघिल्लो वर्ष चालू खाता दुई खर्ब २१ अर्ब ७१ करोडले बचतमा थियो । समीक्षा गरिएको वर्षमा प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब दुई करोड भित्रिएको छ भने अघिल्लो वर्ष यस्तो प्रत्यक्ष वैदेशिक लगानी आठ अर्ब ४७ करोड रहेको थियो । विदेशी मुद्रा सञ्चितिले इतिहास कायम गर्ने क्रम जारी नै छ । राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३१ दशमलव दुई प्रतिशतले बढेर २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको हो । अर्थ सुध्र्रिएको अवस्था बुझाउने यस्ता धेरै सूचकांकहरू छन् जो सकारात्मक हुन् । तर महँगीको सन्दर्भमा भने घटेको भनेर बताउन उपभोक्ताले त्यस्तो महसुस गरुन् भन्ने हो । सम्भवतः बजारको समूचित अनुगमन नहँुदा यस्तो स्थिति आएको हो कि ।