काठमाडौं, नेपाल धितोपत्र बोर्डले प्रि–आईपीओको नाममा सेयर बिक्री नगर्न निर्देशन दिएको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै बोर्डले सार्वजनिक निष्काशन नभएका विभिन्न संगठित संस्थाहरुको सेयर प्रि–आईपीओको नाममा बिक्री नगर्न भनेको हो । ‘सामाजिक सञ्जाल, इमेल तथा एसएमएसमार्फत उक्त कम्पनीहरुको सेयर निकट भविष्यमा नै सार्वजनिक निष्काशन गरिने भन्दै सर्वसाधारणलाई खरिद गर्न प्रस्ताव गरी अनधिकृतरुपमा पैसा उठाइरहेकाले उक्त कार्य तत्काल रोक्न लगानीकर्ताहरुबाट बोर्डमा गुनासो प्राप्त भएको सन्दर्भमा यस विषयमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ,’ त्यस्तो कार्य तत्काल रोक्न निर्देशन दिँदै बोर्डले भनेको छ ।
प्रचलित कानुनमा प्रि–आईपीओसम्बन्धी कुनै व्यवस्था नरहेको र धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा २९ को उपदफा (१) मा संगठित संस्थाले एकपटकमा ५० जनाभन्दा बढी व्यक्तिहरुलाई धितोपत्र बिक्रीवितरण गर्ने भएमा त्यस्तो धितोपत्र बिक्रीवितरणको निमित्त सार्वजनिक निष्काशन गर्नुपर्नेछ भन्ने व्यवस्थाबारे पनि बोर्डले अवगत गराएको छ । बोर्डबाट अनुमति प्राप्त नगरी सार्वजनिकरुपमा संगठित संस्थाको सेयर खरिदबिक्रीसम्बन्धी कार्य नगर्न÷नगराउन सूचित गरिएको बोर्डले स्पष्ट पारेको छ । बोर्डले यसलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ ले गरेको व्यवस्थाविपरीतका कार्य भनेको छ । यस्तो कार्य दण्डनीय भएकाले यस्ता क्रियाकलापमा संलग्न नहुन सूचना निकालिएको बोर्डले उल्लेख गरेको छ ।