धादिङ । सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले समाचार लेखेको विषयलाई लिएर पत्रकारलाई धम्क्याएको घटना सार्वजनिक भएको छ। अध्यक्ष खतिवडाले नगर प्रहरीसहित धादिङ न्यूज डटकमका प्रधान सम्पादक केशव अधिकारी र बागमती कलम डटकमका प्रधान सम्पादक अनिल कुमार नेपालीलाई धम्की दिएको आरोप लागेको हो।
घटनापछि नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रता माथि भएको हस्तक्षेपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले सोमबार जारी विज्ञप्तिमा अध्यक्ष खतिवडाले सञ्चारमाध्यमको कार्यालयमै पुगेर पत्रकारसँग दुर्व्यवहार गर्दै धम्की दिएको पुष्टि भएको उल्लेख गरेका छन्।
शिक्षक सरुवा तथा विद्यालय समायोजनसम्बन्धी गाउँपालिकाको निर्णयबारे प्रकाशित समाचारलाई लिएर अध्यक्ष खतिवडाले पत्रकारलाई धम्क्याएको बताइएको छ। महासंघले विज्ञप्तिमा भनेको छ, “प्रकाशित समाचारप्रति असहमति भए कानुनी बाटो अपनाउन सकिन्छ तर धम्की र दवाव प्रेस स्वतन्त्रता विरोधी कार्य हो। यसप्रति हाम्रो कडा आपत्ति छ।”
पीडित पत्रकार अधिकारीका अनुसार अध्यक्ष खतिवडाले आफूलाई बोलाउन नगर प्रहरी नै पठाएका थिए। अध्यक्षको कार्यकक्षमा पुग्दा अनधिकृत व्यक्तिहरू परिचालन गरी धम्की दिइएको दाबी उनले गरेका छन्। महासंघले सम्बन्धित पक्षलाई प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न आग्रह गर्दै पत्रकारलाई धम्की दिने व्यक्तिहरूमाथि छानबिन गरी कडा कारबाही गर्न अख्तियारी निकायलाई माग गरेको छ।
