काठमाडौँ , विनोदकुमार शर्माको नेतृत्वमा रहेको नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति विघटनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। अन्तर्राष्ट्रिय निकाय इन्टरनेशनल फेडेरेसन अफ रेडक्रस एण्ड रेडक्रिसेन्ट सोसाइटीज (IFRC) ले निलम्बन गरेको उक्त समितिको वैधानिकता चुनौती दिंदै डा. सुदर्शन नेपालपक्षले रिट दायर गरेको हो। न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा आज रिटमाथि सुनुवाइ भइरहेको छ। रिटमा तदर्थ समितिलाई गैरकानूनी दाबी गर्दै विघटनको माग गरिएको छ।
वर्तमान सरकारले नेपाली कांग्रेस र एमालेबीचको भागबण्डा गरेर ९ सदस्यीय तदर्थ समिति गठन गरेको आरोप अघिल्लो समितिले लगाएको छ। त्यसविरुद्ध डा. नेपाल नेतृत्वको अघिल्लो समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद् र तदर्थ समितिका पदाधिकारीलगायतलाई प्रतिवादी बनाएर सर्वोच्चमा रिट दायर गरेको हो। सरकारले वर्तमान तदर्थ समितिलाई विधान संशोधन गर्न र तीन महिनाभित्र निर्वाचन सम्पन्न गर्ने कार्यादेश दिएको छ। तर डा. नेत्र तिम्सिनाको कार्यकालदेखि नै नेपाल रेडक्रस सोसाइटी तदर्थ समितिद्वारा सञ्चालन हुँदै आएको भन्दै अघिल्लो समितिले त्यसको वैधानिकता प्रश्न उठाएको छ।