काठमाडौँ, प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने सर्वसम्मत निर्वाचित भएकी छन्।आज (मंगलबार) दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। तर, तोकिएको समयमा न्यौपानेबाहेक अरू कसैले उम्मेदवारी नदिएकाले उनी सर्वसम्मत निर्वाचित भएकी हुन्। न्यौपाने निर्वाचित भएको औपचारिक घोषणा भने बुधबार बस्ने समितिको बैठकपछि हुने जनाइएको छ। संघीय निजामति सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा विवाद उत्पन्न भएपछि तत्कालीन सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थिए। चलखेलको छानबिन गर्न बनेको समितिले खतिवडालाई जिम्मेवार ठहर गरेपछि उनले राजीनामा दिएका थिए। न्यौपाने सोही रिक्त पदमा सर्वसम्मत निर्वाचित भएकी हुन्।