काठमाडौँ, लामो समयदेखि आन्दोलनरत उखु किसानका लागि सरकारले ७५ करोड ४९ लाख ३८ हजार २ सय ४० रुपैयाँ प्रोत्साहन तथा अनुदानबापत निकासा गरेको छ। अर्थ मन्त्रालयले मंगलबार सो रकम जिल्ला स्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने गरी पठाएको हो। मन्त्रिपरिषद्को निर्णयअनुसार यसपटक उखु किसानलाई प्रति क्विन्टल ३५ रुपैयाँका दरले अनुदान उपलब्ध गराइनेछ। यद्यपि, प्राविधिक कारण देखाउँदै अर्थ मन्त्रालयले रकम निकासा गर्न ढिलाइ गर्दा किसानहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका थिए। यसअघि किसानहरूले प्रति क्विन्टल ७० रुपैयाँसम्म प्रोत्साहन पाउँदै आएका थिए। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसपटकको अनुदान प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो। मन्त्रिपरिषद्ले प्रस्ताव अनुमोदन गर्दै ३५ रुपैयाँका दरले अनुदान उपलब्ध गराउने निर्णय गरेको हो। यसैबीच, आन्दोलनरत उखु किसान र मन्त्रालयका प्रतिनिधिबीच मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा वार्ता भएको छ। वार्तामा मन्त्रालयतर्फबाट कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंह, उपसचिव लालकुमार श्रेष्ठ, मणिरत्न अर्याल, तथा उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी छन्। उखु किसानतर्फबाट श्यामबाबु रायलगायतको टोली वार्तामा सहभागी भएको छ। यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आजै उपमहानिर्देशक सिंहको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरेका थिए। सरकारले रकम निकासा गरेसँगै आन्दोलन शान्त पार्ने अपेक्षा गरिएको छ।