काठमाडौ । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले राज्य सञ्चालनका विभिन्न तहमा महिला प्रतिनिधित्व स्थापित गर्न नेपाली कांग्रेसकी नेत्री मंगलादेवी सिंहको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।
नेपाल महिला सङ्घकी संस्थापक एवं नेपाली महिला आन्दोलनकी नेत्री मंगलादेवी सिंहको २९औँ स्मृति दिवसका अवसरमा मंगलबार शोभाभगवतीमा रहेको सिंहको सालिकमा माल्यार्पण गर्दै उनले महिला अधिकारका लागि मंगलादेवीको भूमिका अतुलनीय रहेको बताए । उपप्रधानमन्त्री सिंहले महिलाको हक, अधिकारका लागि आवाज उठाउने महिला नेत्री सिंहलगायत महिलाको संघर्षको परिणामस्वरुप वर्तमान संविधानमा समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व सुनिश्चित भएको बताए । नेपालको प्रजातान्त्रिक आन्दोलनकी प्रथम महिला नेतृ सिंहले नेपालमा महिलालाई मतााधिकार दिलाउन र शिक्षामा महिलाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । महिला अधिकारको लागि आवाज उठाउन मंगलादेवी २००४ सालमा महिलाहरुलाई संगठित गर्नको लागि नेपाल महिला सङ्घको स्थापना गरेकी थिइन् ।
मंगलादेवी फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंहले मंगलादेवी सिंह नेपाली महिलाका लागि प्रेरणाकी स्रोत भएको बताइन् । महिलालाई चुलोचौकोबाट बाहिर निस्केर आफ्ना हक, अधिकारका निम्ति लड्न २००४ साल साउन २४ गते मंगलादेवी सिंहको अध्यक्षतामा महिला महिला सङ्घ स्थापना भएको उनको भनाइ थियो । उपप्रधानमन्त्री सिंहले शोभा भगवती र बबरमहलमा रहेको मंगलादेवी ज्येष्ठ नागरिक स्मृति पार्कमा पुगेर मंगलादेवीको प्रतिमामा माल्यार्पण गरेका थिए ।