काठमाडौं । एम्बार्क अनम्याथले चितवनका तीन विद्यालयमा तालिम सञ्चालन गरेको छ । एम्बार्क अनम्याथको टिमले हालै चितवनका अङ्कुरम् स्कुल, शिक्षा विकास स्कुल र स्मल हेभन स्कुलमा अन्तर्क्रियात्मक कक्षाकोठा तालिम सञ्चालन गरेको हो ।
तालिमले शिक्षकलाई योजनाबद्ध गतिविधिहरूलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न सहयोग गरेको जनाइएको छ । अवलोकन, नमुना कक्षा, निर्देशन र शिक्षक–नेतृत्वमा भएका अभ्यास सत्रहरूका माध्यमबाट कार्यक्रमले शिक्षण रणनीति सुधार, कक्षाकोठामा सक्रियता बढाउने र विद्यार्थीलाई आकर्षक सिकाइ अनुभव दिने लक्ष्य राखेको थियो ।
विद्यालयअनुसार तालिम फरक–फरक ढंगले सञ्चालन गरिएको थियो । अङ्कुरम् स्कुलका शिक्षकहरूले विभिन्न गतिविधिहरु आफैँ सञ्चालन गरेका थिए भने एम्बार्कको टिमले त्यसको अवलोकन गर्दै आवश्यक निर्देशन प्रदान गरेको थियो । शिक्षा विकास स्कुलको टिमले पहिलो दिन नमुना कक्षा प्रदर्शन गरेको थियो भने दोस्रो दिन शिक्षकहरूले आफैँ अभ्यास गरेका थिए । त्यसैगरी, स्मल हेभन स्कुलमा व्यावहारिक अभ्यास सत्रमार्फत शिक्षकहरूले नयाँ विधिहरूमा सक्रिय सहभागिता जनाएका थिए । एम्बार्क अनम्याथले आगामी दिनमा पनि नियमित फलोअप भ्रमण र निर्देशनमार्फत शिक्षक र विद्यार्थीहरुलाई निरन्तर सहयोग गर्ने योजना बनाएको एम्बार्क अनम्याथकी कन्ट्रिहेड मोहिनी श्रेष्ठले बताइन् ।