काठमाडौं । ओप्पोले नेपालमा आफ्नो फ्ल्यागसिप फोल्डेबल स्मार्टफोन ‘ओप्पो फाइन्ड एन५’ सार्वजनिक गरेको छ । केवल आठ दशमलव ९३ मिमि पातलो र दुई सय २९ ग्राम तौल भएको ‘ओप्पो फाइन्ड एन५’ विश्वकै सबैभन्दा पातलो र हल्का बुक–स्टाइल फोल्डेबल हो ।
कम्पनीका अनुसार यसमा आठ दशमलव १२ इन्चको इनर डिस्प्ले छ, जुन यस श्रेणीकै सबैभन्दा ठूलो हो । यसमा ५६०० एमएएच सिलिकन–कार्बन ब्याट्री छ, जसले फोल्डेबलमा अहिलेसम्मकै लामो ब्याट्री लाइफ दिन्छ । यसमा ८० वाट सुपरभुक वायर चार्जिङ र ५० वाट एयरभुक वायरलेस चार्जिङ सुविधा पनि उपलब्ध छ । स्न्यापड्रागन८ एलाइट मोबाइल प्लेटफर्ममा आधारित यसले प्रयोगकर्तालाई उत्कृष्ट पफर्मेन्स अनुभव दिन्छ ।
‘ओप्पो फाइन्ड एन५’ कम्पनीको पहिलो फोल्डेबल हो, जसले आईपीएक्स९ वाटर रेजिस्टेन्स प्राप्त गरेको छ । यसलाई अझ मजबुत बनाउन टाइटेनियम फ्लेक्सन हिंज प्रयोग गरिएको छ । यसमा पहिलोपटक ह्यासलब्लाड मास्टर क्यामेरा सिस्टम राखिएको छ, यसले प्रो–लेभल फोटोग्राफी र सिनेम्याटिक भिडियो सम्भव बनाउँछ । कलरओएस १५ मा आधारित यसमा कल समरी, डुअल–स्क्रिन इन्टरप्रिटर, एडिटिङ टुल्स र म्याक तथा आईओएस डिभाइसहरूसँग सिमलेस कनक्टिभिटीजस्ता फिचरहरू छन् । यो १६ जीबी र्याम र ५१२जीबी स्टोरेज भर्सनमा दुई लाख ४९ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध छ । साथै, कम्पनीले शून्य प्रतिशत ईएमआई योजनासहित बिक्री सुरु गरेको जानकारी दिएको छ ।