काठमाडौं । महिला उद्यमीहरुलाई प्रविधि क्षेत्रमा सशक्त बनाउने उद्देश्यले स्थापित अरोरा टेक अवार्ड २०२६ का लागि आवेदन खुला भएको छ । नेपाललगायत विश्वभरका प्रविधिमा आधारित स्टार्टअपमा संलग्न महिलाहरुले यस अवार्डमा भाग लिन सक्नेछन् ।
यो अवार्ड सन् २०२१ मा इनड्राइभले स्थापना गरेको हो । सुरुमा सानो पहलका रूपमा सुरु भए पनि अहिले महिला उद्यमीलाई प्रविधि क्षेत्रमा जोड्ने र अगाडि बढाउने ठूलो प्लेटफर्म बनिसकेको छ । गत वर्ष २०२५ को संस्करणमा एक सय १६ देशका दुई हजारभन्दा बढी महिलाहरुले आवेदन दिएका थिए । स्वास्थ्य प्रविधि, कृत्रिम बौद्धिकता (एआई), वित्तीय प्रविधि, शिक्षा प्रविधि र कृषि प्रविधिजस्ता क्षेत्रमा सक्रिय महिला उद्यमीहरु फाइनलसम्म पुग्न सफल भएका थिए ।
यसपटकको आवेदन कात्तिक २६ गतेसम्म खुला रहने जनाइएको छ । इच्छुक महिला फाउन्डरहरुले अरोरा टेक अवार्डको वेभसाइटमा अनलाइन फारम भरेर सहभागी हुन सक्नेछन् । आवेदन दिनका लागि कम्पनी पाँच वर्षभन्दा पुरानो नभएको, प्रोटोटाइप वा एमभीपी वा प्रारम्भिक ग्राहकको आधार भएको र स्टार्टअप प्रि–सिड वा सिड चरणमै भएको हुनुपर्नेछ । साथै, कम्पनीको कुल लगानी सिड राउन्डसहित छ लाख अमेरिकी डलरभन्दा कम भएको हुनुपर्नेछ ।
हेड अफ अरोरा टेक अवार्ड इसाबेला घसेमी–स्मिथका अनुसार अरोरा टेक अवार्ड केवल पुरस्कार मात्र नभएर नयाँ पुस्ताका साहसी महिला संस्थापकहरुका लागि अझ अघि बढ्ने अवसरको ढोका हो । उनका अनुसार अवार्डले विजेतालाई पुँजी मात्र नभएर शीर्ष लगानीकर्ताहरुसँग सम्पर्क गर्ने अवसर दिनेछ । अवार्डमा पहिलो हुने विजेताले ५० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार अमेरिकी डलर पुरस्कार रकम प्राप्त गर्नेछन् ।