हुम्लाको हिल्सा नाका, जहाँबाट एकातिर तीर्थयात्रीहरू कैलाश–मानसरोवर पुग्छन् र अर्कोतिर स्थानीय नागरिकले दैनिक उपभोग्य सामग्री आयात–निर्यात गर्छन्, पछिल्लो समय तस्करीको ‘गेटवे’मा परिणत भएको छ । जडीबुटीको आवरणमा अवैध समानहरू भित्र्याएर करोडौंको कालो धन कमाउने धन्दा खुलेको छ । तीन दिनअघि मात्र डिभिजन वन कार्यालय सिमकोटले जडीबुटी र सेतक चिनीका नाममा छुट पुर्जी दिएर पठाएको कन्टेनर दैलेखको खिड्कीज्युलामा सशस्त्र प्रहरीको फन्दामा परेको हो। नेपालगन्जसम्म जाँचपास गरिएको उक्त कन्टेनर खोल्दा चीनबाट भन्सार छली ल्याइएको ३९ हजार ९ सय थान विद्युतीय चुरोट (भेप) र २,४०६ किलो सेतक चिनी बरामद गरिएको छ। बरामद भेपको मूल्य करिब १० करोड रुपैयाँभन्दा बढी हुने प्रारम्भिक अनुसन्धानले देखाएको छ। कन्टेनरलाई डिभिजन वन कार्यालयका निमित्त प्रमुख लोकजंग शाहीले पास दिएर पठाएका थिए। उनी कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीका सहोदर भाइ हुन्। यस कारण तस्करी प्रकरणमा उच्च राजनीतिक संरक्षणको आशंका गरिएको छ।राजस्व अनुसन्धान विभाग र एपीएफ टोलीले कन्टेनरलाई लामो समयदेखि निगरानीमा राख्दै दैलेखको खिड्कीज्युलाबाट नियन्त्रणमा लिएको हो। कैलाश ईश्वर जडीबुटी खरिदबिक्री केन्द्रका सञ्चालक कुन्साङ दोर्जी लामाले ५ हजार केजी सेतक चिनीका नाममा जाँचपासका लागि निवेदन दिएका थिए। लोकजंग शाहीले प्रतिकेजी २५ रुपैयाँ राजस्व दाखिला भएको रसिदसहित कन्टेनरलाई पास गरेका थिए। तर, राजस्व र प्रहरी टोलीले निगरानी गर्दै जाँदा जडीबुटीको नाममा भेप तस्करी भइरहेको खुलासा भयो। घटनापछि कन्टेनर चालक भूमि रोकाय, सिमकोटका २७ वर्षीय छिरिङ लामा र मुगु खत्याडका ३२ वर्षीय जनक रोकायलाई पक्राउ गरिएको छ।घटनामा वन कार्यालयकै कर्मचारीहरूको संलग्नता भएको आशंका गहिरिँदै गएको छ। लोकजंग शाहीले भने आफूले कन्टेनर जाँचपास कर्मचारीको स्थलगत प्रतिवेदनका आधारमा मात्र गरेको दाबी गरेका छन्। तर, राजस्व अनुसन्धान कार्यालय कोहलपुरले वन कर्मचारी र व्यवसायीबीचको मिलेवटमा तस्करीको ठूलो जालो रहेको अनुमान गरेको छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले तस्करी घटनालाई अत्यन्त गम्भीर रूपमा लिएको भन्दै, “सुरक्षा निकायहरूसँग छलफल गरेर यस्ता घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याइनेछ,” बताएका छन्।यस घटनाले हुम्लाको हिल्सा नाका अवैध तस्करीको केन्द्र बन्दै गएको संकेत दिएको छ, जहाँ जडीबुटी र दैनिक उपभोग्य सामग्रीको आवरणमा करोडौंको समान चीनबाट भित्र्याइँदै आएको आशंका छ।