वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार अमेरिकाले चीनबाट छ लाख विद्यार्थीलाई प्रवेश दिने घोषणा गरेका छन् । एएनआईका अनुसार चीनसँगको भन्सार शुल्क वार्ताका क्रममा ट्रम्पले चिनियाँ विद्यार्थीहरूको उपस्थितिलाई महत्वपूर्ण भनेका थिए ।
उनको भनाइ थियो, ‘हामी उनीहरूका विद्यार्थीलाई अनुमति दिनेछैनौँ भन्ने म धेरै अफवाह सुन्छु । तर होइन, हामी उनीहरूलाई भित्र आउन दिनेछौँ । यो धेरै महत्वपूर्ण छ–छ लाख विद्यार्थी । यो ठूलो कुरा हो ।’
चीनसँग राम्रो सम्बन्ध कायम हुनेमा आफू विश्वस्त रहेको उनले बताए । ‘राष्ट्रपति सी मलाई चीन आउन चाहनुहुन्छ । यो निकै महत्वपूर्ण सम्बन्ध हो । हामी चीनबाट भन्सार शुल्क र अन्य कारणले धेरै पैसा संकलन गरिरहेका छौँ । तर हामी चीनसँग राम्रो गर्नेछौँ’, ट्रम्पले भने ।
उनका अनुसार, अहिलेको चीनसँगको आर्थिक सम्बन्ध अघिल्लो बाइडेन प्रशासनको तुलनामा धेरै बलियो छ । यस वर्षको सुरुमा अमेरिकी प्रशासनले सबै चिनियाँ सामानमा एक सय ४५ प्रतिशत कर लगाएको थियो । यसको जवाफी कदमस्वरूप बेइजिङले अमेरिकी निर्यातमा एक सय २५ प्रतिशत कर लगाएको थियो ।
जेनेभामा मे महिनामा वार्ताकारहरूले अतिरिक्त करहरू रोकिने सहमति गरेका थिए, तर ट्रम्पले अझै थप दण्डको चेतावनी दिन छाडेका थिए । गत हप्ता मात्रै उनले चिनियाँ निर्मित म्याग्नेटमा दुई सय प्रतिशत कर लगाउने घोषणा गरेका थिए । म्याग्नेटलाई उनले विश्व बजारमा बेइजिङको ‘एकाधिकार’को रूपमा चित्रण गरेका थिए ।
‘यसमा कुनै समस्या आउँछ भन्ने मलाई लाग्दैन’, ट्रम्पले भने, ‘चीनले बुद्धिमानीपूर्वक विश्वको म्याग्नेट बजारमा एकाधिकार बनाएको छ । तिनीहरूलाई पाउन सम्भवतः हामीलाई एक वर्ष लाग्न सक्छ ।’ फक्स न्युजका अनुसार हाल करिब दुई लाख ७० हजार चिनियाँ विद्यार्थी अमेरिकी विश्वविद्यालयहरूमा अध्ययनरत छन् ।