काठमाडौं । स्वास्थ्य बीमा बोर्डले समयमा बीमा नवीकरण नगर्नेसँग थप शुल्क लिने भएको छ । बुधबार सार्वजनिक सूचना जारी गर्दै बोर्डले आगामी असोज ३१ गतेसम्म बीमा नवीकरण नगरे थप शुल्क बुझाउनु पर्ने निर्णय भएको जनाएको हो ।
बोर्डले तीन वर्षसम्म बीमा नवीकरण नगर्नेलाई योगदान रकमको चार गुणा बढी शुल्क बुझाउनु पर्ने जनाएको छ । ‘विगतमा स्वास्थ्य बीमा गरी नवीकरण नगरेका बीमित परिवारहरूलाई एकपटकका लागि थप शुल्क मिनाहा गर्ने तर आउँदो कात्तिक ३१ गतेपछि भने विलम्ब शुल्कको तिर्नुपर्छ’, बोर्डले भनेको छ । यद्यपि, बोर्डले असोज मसान्तसम्ममा नवीकरण गर्नेहरूका लागि पुरानो योगदान रकममा कुनै थप शुल्क नलाग्ने जनाएको छ ।
‘स्वास्थ्य बीमाको म्याद सकिएको तीन महिनाभित्र नवीकरण गरेमा कार्यक्रममा आबद्ध हुँदा लाग्ने योगदान रकमको १० प्रतिशत थप शुल्क लाग्ने र त्यसपछि छ महिनाभित्र नवीकरण गरेमा योगदान रकमको ३० प्रतिशत थप शुल्क लाग्छ’ सूचनामा उल्लेख गरिएको छ । बोर्डका अनुसार छ महिनादेखि एक वर्षभित्र स्वास्थ्य बीमा नवीकरण गरेमा योगदान रकमको ५० प्रतिशत थप शुल्क लाग्नेछ । त्यसपछि नवीकरण गरेको योगदान रकमको शतप्रतिशत थप शुल्क लाग्नेछ ।
दुई वर्षसम्म पनि नवीकरण नगरे योगदान रकमको तीन गुणा बराबरको शुल्क लाग्ने र तीन वर्षभन्दा बढी भएमा योगदान रकमको तीन गुणा बराबरको शुल्क बढी शुल्क लाग्ने सूचनामा उल्लेख छ ।