काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अगामी शनिबार पाँच दिने चीन भ्रमणमा जाँदै छन् । उनी हिमालय एयरलाइन्सको चार्टर्ड फ्लाइटमा चीन जान लागेका हुन् । तर उनको भ्रमणमा विमानले प्रयोग गर्ने इन्धनको नाममा अनियमितता हुन लागेको छ ।
प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदा राष्ट्रिय ध्वजावाहक जहाजको साटो चिनियाँ समेतको लगानी रहेको हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरेर जाने गरेका छन् । शनिबार पनि उनले यसलाई दोहोर्याउँदै छन् । चार्टर्ड गरेको विमानले प्रधानमन्त्री ओलीको टोलीलाई लैजाने र ल्याउने काम गर्नेछ । यसको खर्च सरकारले व्यहोर्छ । राष्ट्रवादी धारको वकालत गर्ने तर भ्रमणमा राष्ट्रिय ध्वजावाहक विमानलाई नै बेवास्ता गर्ने कुराले जनस्तरमा हासीमजाक गर्न थालिएको छ ।
चार्टर्ड विमानको भाडाबाहेक प्रधानमन्त्री ओलीको चीन भ्रमणको खानेबस्ने व्यवस्था चीन सरकारले नै गर्नेछ । तर पनि भ्रमण दलका सदस्यहरुले पदीय हैसियतअनुसार अमेरिकी डलरमा दैनिक भ्रमण भत्ता सुविधा पनि पाउने छन् । योभन्दा पनि रोचक पक्ष के छ भने प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा चार्टर्ड गरिएको हिमालय एयरलाइन्सको जहाजमा नेपाल आयल निगमले निःशुल्करुपमा हवाई इन्धन उपलब्ध गराउने भएको छ ।
त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रधानमन्त्री ओलीको चीन भ्रमणमा उडान भर्ने हिमालय एयरलाइन्सलाई त्यसका लागि लाग्ने हवाई इन्धन निःशुल्करुपमा उपलब्ध गराउने आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएपछि आपूर्ति मन्त्रालयले निःशुल्क उपलब्ध गराउने निर्णय गरेर नेपाल आयल निगममा निर्देशन पठाएको थियो ।
त्यही निर्देशनअनुसार नेपाल आयल निगमले उक्त व्यवस्था गरेको छ । सो व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीको चीन भ्रमणका लागि झण्डै ४८ हजार लिटर हवाई इन्धन लाग्ने र त्यसको मूल्य ७० लाख रुपैयाँभन्दा बढी हुने बताइएको छ । तर सरकारले चार्टर्ड फ्लाइटको भाडा कति हुने भन्ने खुलाएको छैन । सामान्यतया चार्टर्ड फ्लाइट गर्दा त्यही फ्लाइट भाडाभित्रै हवाई इन्धनको मूल्य पनि जोडिने गर्छ । तर सरकारले हिमालय एयरलाइन्सको चार्टर्ड फ्लाइट सशुल्क हो कि निःशुल्क हो भन्ने कतै खुलाएको छैन । तर चार्टर्ड फ्लाइटको विमानमा निःशुल्क हवाई इन्धन भर्ने निर्णय गरेपछि त्यसमा अनियमिता भएको हुन सक्ने आशंका बढेको हो ।
प्रधानमन्त्री ओली सांघाई सहयोग संस्थाको सांघाइमा हुने एससीओ शिखर सम्मेलनमा सहभागी हुन अगामी १४ गते त्यसतर्फ जान लागेका हुन् र उनी १८ गते स्वदेश फर्कनेछन् । उनी चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाएको निमन्त्रणामा सांघाई जान लागेका हुन् । प्रधानमन्त्री ओलीको भ्रमण दलमा रघुजी पन्त, पर्यटनमन्त्री बद्री पाण्डे, सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मा र अन्य उच्च पदस्थ सरकारी अधिकारीहरु रहने जनाइएको छ ।