पटना, बिहार – पाकिस्तानमा आधारित आतंकवादी संगठन जैश-ए-मोहम्मदका तीन संदिग्ध सदस्य नेपाल हुँदै बिहार प्रवेश गरेको भारतीय गुप्तचर निकायले जनाएको छ। यस सूचनापछि बिहीबार बिहार प्रहरी मुख्यालयले राज्यव्यापी उच्च सतर्कता जारी गर्दै सीमावर्ती जिल्लाहरूमा सुरक्षा कडाइ गरेको हो। बिहार प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार, नेपाल हुँदै बिहार प्रवेश गर्ने तीन संदिग्ध आतंककारीमा हसनैन अली (रावलपिण्डी), अदिल हुसैन (उमेरकोट) र मोहमद उस्मान (बहावलपुर) रहेका छन्। गुप्तचर सूचनाअनुसार उनीहरू साउनको दोस्रो सातातिर काठमाडौं पुगेका थिए र गत सातामात्र बिहार प्रवेश गरेका हुन्। सुरक्षासम्बन्धी सम्भावित जोखिमलाई ध्यानमा राख्दै बिहार प्रहरीले उनीहरूको पासपोर्टसम्बन्धी विवरण सीमा नजिकका सबै जिल्ला प्रहरी कार्यालयलाई पठाइसकेको छ। प्रहरीले सीमावर्ती क्षेत्रमा सुरक्षा गस्ती, निगरानी र चेकिङ थप कडा बनाएको छ। विशेष गरी मधुबनी, सीतामढी, सुपौल, अररिया, पूर्वी चम्पारण र पश्चिम चम्पारण जस्ता सीमावर्ती जिल्लामा सुरक्षा संयन्त्रलाई अझ बलियो बनाइएको छ। बिहारसँग नेपालको करिब ७२९ किलोमिटर लामो खुला सीमा भएकाले यो क्षेत्रबाट अवैध आवतजावत र घुसपैठ हुने जोखिम बढ्दो छ। सातवटा जिल्लाले प्रत्यक्ष रूपमा सीमाना छोएकाले सतत निगरानी र सुरक्षा बलको सक्रियता अझै बढाइएको हो। प्रहरीले नागरिकलाई पनि कुनै पनि सन्दिग्ध गतिविधि वा व्यक्तिहरू देखिए तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरेको छ। इन्डिया टुडे