गलकोट (बागलुङ) । समुद्र सतहबाट दुई हजार ५०० मिटरको उचाइमा रहेको बागलुङको गाजादहको मध्यभागमा सिद्धबराहको २३ फिट अग्लो पूर्णकदको मूर्ति निर्माण भएको छ । मूर्तिकार कृष्ण बहादुर सुनारले चार महिना लगाएर उक्त मूर्ति बनाएका हुन् । मूर्ति तयारीमा २० लाख खर्च भएको छ ।
बागलुङको जैमिनी नगरपालिका–३ स्थित रहेको गाजादह धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै सिद्धबराहको प्रचारप्रसार गर्ने उद्देश्यले सिद्धबराहको मूर्ति स्थापना गरिएको वडाध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिए । भगवान् विष्णुका दश अवतारमध्येको तेस्रो मानिने बराह अवतार झल्कनेगरी मूर्ति निर्माण स्थापना गरिएको छ ।
२४ वर्गमिटरमा फैलिएको गाजादहमा आयोजित ज्ञान महायज्ञमा सङ्कलन भएको रकमबाट मूर्ति निर्माण गरिएको हो । जैमिनी नगरपालिका र स्थानीयको अगुवाइमा ताल संरक्षण, पूर्वाधार तथा सिद्धबराहको मन्दिर निर्माण लगायतका पूर्वाधार थपिएका छन् । यो धार्मिक पर्यटकका निम्ति प्रमुख गन्तव्यका रूपमा विकास भइरहेको छ ।