काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० मध्यबानेश्वरस्थित कवीर सत्सङ्ग आश्रम ट्रष्ट नेपालको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजमा विकृति विसङ्गती हटाएर सद्भाव सिर्जना गर्न सत्सङ्गले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखेका छन् ।
मन्त्री सिंहले अहिलेको अवस्थामा समाजमा सहकार्य र सद्भाव जरुरी रहेको बताउँदै सत्सङ्गले मानिसलाई सकारात्मक काममा केन्द्रित गराउने विश्वास व्यक्त गरे । उनले सत्सङ्ग र सन्तलाई बस्ने, खाने, ध्यान गर्ने केन्द्रको सुविधाका लागि सबैले आफूले सक्ने सहयोग गर्नुपर्ने धारणा राखे । भवन निर्माणप्रति आफू पनि सकारात्मक रहेको उनको भनाइ छ ।
जीवनलाई सहिदिशातर्फ डोर्याउन सत्सङ्ग अत्यन्त जरुरी रहेको बागमती प्रदेशका सांसद एवं पूर्वमन्त्री दीपेन्द्र श्रेष्ठले आफ्नो अनुवभ सुनाए । काठमाडौं महानगरपालिका–१० मा रहेको कवीर सत्सङ्ग आश्रममा आफू सानैदेखि ध्यानकर्म गर्दै र कविरका सत्यवचन सुन्दै आएको बताउदै सांसद श्रेष्ठले सन्तको व्यवस्थापनमा भवन बनेकोमा खुसी व्यक्त गरे ।
टोल र समाजमा सद्विचारको प्रवाह गर्न आश्रम प्रभावकारीस्थल रहेको काठमाडौँ महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसीले बताए । २०५३ सालमा कवीर सत्सङ्ग आश्रम ट्रष्ट नेपालको स्थापना भएको बताउँदै आश्रमका प्रमुख आर्दश दासले भवन निर्माण भएपछि देशविदेशबाट आउने सन्तगुरु र भक्तजनलाई ध्यान, भजन, अध्ययन र विश्राम गर्न सहज भएको बताए । उनले भने, “सत्सङ्ग जहाँ छन्, त्यहाँ शुभ हुन्छ । सोही विश्वासअनुसार सबै सत्सङ्गमा लाग्नुपर्छ ।”