काठमाडौं ,प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। बिहीबार सिंहदरबारमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग भएको छलफलमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा प्रस्थान गर्दैछन्। भ्रमणअघि उनी संसदलाई भ्रमणको उद्देश्य र प्रमुख एजेन्डाबारे जानकारी गराउने तयारीमा छन्। विशेषगरी लिपुलेक विवादलाई प्राथमिकतामा राख्दै ओलीले चीनका राष्ट्रपति सी जिन पिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुला र स्पष्ट वार्ता गर्ने प्रतिबद्धता जनाएका छन्। बुधबार बालुवाटारमा पार्टीका शीर्ष नेताहरूसँगको छलफलमा ओलीले राष्ट्रिय सहमति जुटाएर लिपुलेक मुद्दामा नेपालको स्पष्ट धारणा प्रस्तुत गर्ने योजना सार्वजनिक गरेका थिए। प्रधानमन्त्रीको सम्बोधनपछि संसद्ले भ्रमणबारे औपचारिक दृष्टिकोण बनाउने अपेक्षा गरिएको छ।