भक्तपुर,भक्तपुर जिल्ला अदालतले सूर्यविनायक नगरपालिकाको साँगास्थित झोलुङ्गे पुलमा विवाद गरेको आरोपमा आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय सुनाएको छ। जिल्ला अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीका अनुसार न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङ र अर्का प्रतिवादी शरण तिरूवालाई आपराधिक उपद्रवको मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको हो। सूर्यविनायक नगरपालिकाले झोलुङ्गे पुलमा अवैध रूपमा रकम उठाएको, सूचना च्यातेको र अवरोध पुर्‍याएको आरोपमा दुवैजनामाथि आपराधिक उपद्रवको जाहेरी दिएको थियो।अदालतले पाँच दिन कैदसहित प्रतिवादीहरूलाई ५ सय रुपैयाँ जरिवाना तिर्न, पीडितलाई ८ हजार ३ सय रुपैयाँ क्षतिपूर्ति बुझाउन र पीडित राहत कोषमा जनही २०० रुपैयाँ जम्मा गर्न आदेश दिएको छ। घटनाबारे प्रहरी, सरकारी वकिल र अदालतमा समेत गल्ती स्वीकार गरेकी आशिका तामाङले सजाय कम गराउन अनुरोध गरेकी थिइन्।