ललितपुर । ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा पक्राउ परेकामध्ये एक जना धरौटीमा रिहा भएका छन् भने दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । ललितपुर अदालतका जिल्ला न्यायाधीश निर्मला योङ्याको इजलासले गत सोमबार दिएको आदेशअनुसार प्रतिवादी रहेका सुरेश अधिकारी सात लाख धरौटीमा रिहा भएका हुन् ।
अभियुक्तद्वय ज्योतिबहादुर भण्डारी र सुवास खत्री भने कारागार चलान भएका छन् । अधिकारीले बिहीबार सात लाख बुझाएपछि रिहा भएका छन् । महालक्ष्मीस्थानमा रहेको सहकारी ठगीमा आठ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । तीमध्ये उक्त तीन जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो ।
यही सहकारी ठगीमा कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङको समेत संलग्नता देखिए पनि उनीसहित कुम्भराज गुरुङ, विजय कुमार राई, प्रितम अधिकारी र अर्जुन अराम भने फरार छन् ।
सहकारीको १४ करोड २९ लाख २४ हजार सात सय ५४ रुपैयाँ अपचलन भएको आरोप छ । यसबाहेक थप तीन करोड ४२ लाख ८२ हजार चार सय २० समेत गरी कुल १७ करोड ७२ लाख सात हजार एक सय ७४ रुपैयाँ बिगो कायम गरिएको छ । प्रतिवादीहरुमाथि अन्य ठगीजन्य कारोबारमा संलग्न रहेको भन्दै छुट्टाछुट्टैरुपमा ठगी, लिखत किर्ते, अभौतिक मुद्रालगायतका आरोप समेत लागेको छ ।