काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले शून्य भन्सार सुविधामा स्वदेशी उत्पादन अमेरिका निर्यात गर्ने तयारी गरिरहेको बताएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारद्वारा आयोजना हुने ‘लगानी तथा विकास सम्मेलन’सम्बन्धी बिहीबार मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले उक्त जानकारी दिएका हुन् । नेपाली वस्तुको दोस्रो ठूलो निर्यात गन्तव्य संयुक्त राज्य अमेरिका रहेकाले नेपाल व्यापार प्राथमिकता कार्यक्रम (एनटीपीपी)मार्फत ७७ वस्तुका लागि शून्य भन्सार सुविधामा निर्यात गर्ने तयारी भइरहेको उनले बताए । यस्तै, उनले मुलुकभित्र अन्तर्राष्ट्रियस्तरको मापदण्डसहितका उद्योग, कलकारखाना स्थापना गर्ने बताए । यसले नेपालको उद्योगको विकास, नागरिकको जीवनस्तरमा सुधारमा दीर्घकालीन महत्व राख्ने उनको भनाइ छ । विश्वमा हाल व्यापार युद्ध चलिरहेको उल्लेख गर्दै उनले यो नेपाली उत्पादनको लागि सुवर्ण अवसर पनि हुने बताए । उत्पादनमा आत्मनिर्भर भएर निर्यात बढाउन लाग्नुपर्ने उनले जोड दिए ।
नेपाली वस्तुको व्यापारले पछिल्लो समय विश्वबजारमा प्राथमिकता पाइरहेको बताउँदै उनले संघीय सरकारले आम उपभोक्ताको स्वास्थ्य र सुरक्षामा कुनै सम्झौता नगर्ने नीतिमा अघि बढिरहेको बताए । उनले गलैँचा, पश्मिनाजस्ता वस्तु नेपालीका पहिचान भएकाले यस्ता उद्योगको संरक्षण गरी उत्पदान बढाउनेतर्फ सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिए । यसैगरी, उनले नेपालमा आयात हुने वस्तुमा पनि गुणस्तर परीक्षण गरेर मात्रै उपभोत्तामाझ पठाउने बताए । जनस्वास्थ्यलाई प्रतिकूल असर नपरोस् भन्ने उद्देश्यले आयातित उपभोग्य वस्तु परीक्षण गरेर उपभोग गर्न दिइने उनको भनाइ थियो ।
यसैगरी, मन्त्री भण्डारीले विश्वबजारमा व्यापार प्रतिस्पर्धा गर्नका लागि नयाँ लगानीको सम्भावना खोजी गर्ने समेत बताए । नेपालमा लगानीको नयाँ सम्भावनामा खानी र खनिज देखिएको उनको भनाइ छ । नेपालले खानी र खनिज क्षेत्रमा लगानी भित्र्याउनका लागि छिट्टै अन्तर्राष्ट्रिस्तरको खानी सम्मेलन गर्ने पनि जानकारी दिए । साथै, उनले केही समयपछि नेपाल ग्यासमा आत्मनिर्भर हुने बताए । उनले आगामी मंसिरबाट ग्यासको उत्पादन परिक्षण गर्ने पनि जानकारी दिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा औद्योगिक विकासका लागि पर्याप्त पूर्वाधार रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई सोचविना लगानी गर्न आग्रह गरे । उनले सुदूरपश्चिममा उद्योग स्थापनाका लागि आवश्यक जमिन प्रदेश सरकारले उपलब्ध गराउने जानकारी दिए । निजी क्षेत्रसँग सहकार्यमा प्रदेशको सम्भावनालाई यथार्थमा बदल्न चाहेको उनको भनाइ थियो । हाल निजी क्षेत्रको लगानी लुम्बिनी प्रदेशको बाँकेबाट कटेर पश्चिमतिर जान नसकेको उनको गुनासो छ । सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण बदल्नुपर्नेमा उनले जोड दिए । मुख्यमन्त्री शाहले सुदूरपश्चिममा जलस्रोत, पर्यटन, कृषि, जडीबुटी, खनिजलगायत क्षेत्रमा प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै त्यहाँको आर्थिक रुपान्तरणका लागि यी क्षेत्रमा तत्काल लगानी आवश्यक रहेको बताए ।
कार्यक्रमका अधिकांश सहभागीले सुदूरपश्चिम प्रदेशमा औद्योगिक विकासका लागि प्रशस्त सम्भावनासहित आवश्यक पूर्वाधार रहेकाले त्यहाँ लगानीका लागि ढिलाइ गर्न नहुनेमा जोड दिएका थिए ।