काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मातहतका विभागीय प्रमुखलाई कार्यसम्पादन सम्झौता इमानदारीपूर्वक कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
चालू आर्थिक वर्षको कार्यसम्पादन सम्झौतापछि उनले प्रतिबद्ध भएर कार्यान्वयन गर्न मन्त्रालयका सचिव, विभागीय प्रमुख र महाशाखा प्रमुखलाई निर्देशन दिएका हुन् । मन्त्री शाही र सचिव डा राजेन्द्रप्रसाद मिश्रबीच तथा सचिव र विभागीय प्रमुख महाशाखा प्रमुखबीच बिहीबार कार्यसम्पादन सम्झौता भएको हो । ‘प्रधानमन्त्रीसँग सम्झौता भएको कार्यसम्पादन कार्यान्वयन गर्न म प्रतिबद्धरूपमा लाग्ने छु,’ ‘मन्त्री शाहीले भने, ‘मन्त्रालय र हामीबीच भएको कार्यसम्पादन सम्झौता कार्यान्वयन गर्न तपाईंहरू पनि कटिबद्ध भएर लाग्नुस् ।’ आगामी कार्यसम्पादनको मूल्याङ्कन ९० प्रतिशत अङ्कभार प्राप्त गर्ने गरी कार्यान्वयनमा लाग्न मन्त्री शाहीले सचिव, विभागीय प्रमुख र महाशाखा प्रमुखलाई निर्देशन दिए । उनले वन मन्त्रालयमार्फत एक वर्षमा उपलब्धिमूलक काम भएका बताउँदै मन्त्रालयलाई सफल र सक्षम बनाउन विभागीय प्रमुखको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।