काठमाडौं । नेपाल टेक मार्केटले नयाँ फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक गरेको छ । यो प्रणालीले स्मार्ट प्रविधिको प्रयोग गरी नेपालमा फोहोर व्यवस्थापनको क्षेत्रमा एक नयाँ आयाम थप्ने लक्ष्य राखेको छ ।
नेपाल टेक मार्केटका प्रमुख प्राविधिक अधिकृत मङ्गल प्रधानका अनुसार यो प्रणालीलाई प्रयोगकर्ता–मैत्री बनाउन नवीनतम प्रविधि र विश्वव्यापी ट्रेन्डहरू समावेश गरिएको छ । यो प्रणाली बलियो, सुरक्षित र प्रयोग गर्न सजिलो छ । प्रमुख व्यावसायिक अधिकृत सुष्मिता पौडेलले यस प्रणालीले प्रयोगकर्ताहरूबाट सकारात्मक प्रतिक्रिया पाएको बताइन् । यस सिस्टममार्फत प्रत्येक फोहोर व्यवस्थापन गर्ने कम्पनी, फोहोर उत्पादन गर्ने संघ संस्था, घरहरूबीच अन्तरसम्पर्क गर्न सकिनेछ ।
फोहोर व्यवस्थापन गर्न लाग्ने शुल्कको अनलाइन भुक्तानी गर्नु साथ–साथै यो सिस्टमले नगरपालिकाको लागि पनि छुट्टै ड्यासबोर्ड उपलब्ध गराएको छ । नगरपालिकाका यूजरबाट आफ्नो नगर/वडामा फोहोर व्यवस्थापनका के–के गतिविधिहरू भइरहेको छ भनेर थाहा पाउन सक्नेछ । डिलाइट सोलुसन्सद्वारा सञ्चालित नेपाल टेक मार्केट डटकमका सीईओ चिरञ्जीवी अधिकारीले यो प्रणाली उपभोक्ताको आवश्यकता र बजारको मागलाई ध्यानमा राखेर विकसित गरिएको बताए । यस प्रणालीमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरिएको छ ।
नेपाल टेक मार्केटले फोहोर व्यवस्थापन प्रणालीबाहेक विभिन्न आईटी सेवाहरू पनि प्रदान गर्ने गरेको छ । यसका प्रमुख सेवाहरूमा वेब र मोबाइल अनुप्रयोग विकास, हार्डवेयर उपकरण, डोमेन दर्ता र वेब होस्टिङ र आईटी तालिम रहेका छन् । यसबाहेक, कम्पनीले ग्राहकको मागअनुसार अनुकूलित सफ्टवेयर विकास, वित्तीय तथ्याङ्क व्यवस्थापन, र भुक्तानी गेटवे एकीकरणजस्ता विशेष सेवाहरू पनि प्रदान गर्दै आएको छ । नेपाल टेक मार्केटको नयाँ फोहोर व्यवस्थापन प्रणालीले फोहोर व्यवस्थापनलाई केवल सरसफाइको काममा मात्र सीमित नराखी यसलाई डिजिटल समाधानसँग जोडेको छ । यसले नेपालको सहरी क्षेत्रमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।