काठमाडौं । अमेरिकी उच्च शिक्षाको खोजीमा रहेका नेपाली विद्यार्थीहरूका लागि ३० भन्दा बढी प्रतिष्ठित अमेरिकी विश्वविद्यालयहरूको सहयोगमा राजधानीमा विशेष शिक्षा मेला आयोजना हुने भएको छ ।
मेला शुक्रबार काठमाडौंको पुतलीसडकस्थित जाम्बोरी एजुकेसनमा आयोजना हुन लागेको हो । यो कार्यक्रम अमेरिकी विश्वविद्यालयहरूको सहभागितामा हालसम्म नेपालमा आयोजित सबैभन्दा ठूलो शिक्षा मेला बन्ने अपेक्षा गरिएको छ । मेलामा छात्रवृत्ति अवसरहरू र प्रोफाइल मूल्याङ्कन, स्थलगत अन्तर्वार्तालगायतका मौका पाइनेछ । जाम्बोरी एजुकेसन नेपालका अनुसार नेपालमा यति धेरै शीर्ष अमेरिकी विश्वविद्यालयहरूको एउटै कार्यक्रममा सहभागिता हुन लागेको पहिलोपटक हो ।
अमेरिकामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूको संख्या तीव्र गतिमा बढ्दै गएको पृष्ठभूमिमा यो कार्यक्रम आयोजना गरिएको हो । पछिल्ला दुई वर्षमा मात्र नेपालबाट अमेरिकी विश्वविद्यालयहरूमा आवेदनमा ४० प्रतिशतले वृद्धि देखिएको छ । धेरै विश्वविद्यालयहरूले मेलाकै अवसरमा नेपाली विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति प्याकेजहरू घोषणा गर्ने अपेक्षा गरिएको छ । सहभागीहरूले परीक्षा तयारी, वित्तीय योजना, र सफल आवेदकहरूको यात्रा व्यवस्थासमेतमा सहयोग प्राप्त गर्न सक्नेछन् ।