धनुषा,को जनकपुरधाम उपमहानगरपालिका–२० स्थित झण्डाचोकमा गणेश पूजाको मूर्ति विसर्जनलाई लिएर हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ। शनिबार मूर्ति विसर्जनका क्रममा मुस्लिम बस्ती हुँदै लैजाने विषयमा उत्पन्न विवादपछि दुवै पक्षबीच तनाव चर्किँदै ढुंगामुढासहित झडप भएको हो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरी टोलीले चार राउन्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिति रहेको छ। प्रहरीले थप अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाएको छ। झडपमा घाइते हुनेहरूको विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन।