तराईको धेरै व्यस्त सहर र काठमाडौं उपत्यकाका लागि लाइफलाइनजस्तो मानिने ठाउँ वीरगन्जमा फैलिएको हैजा केन्द्रीय राजधानीका लागि पनि चिन्ताको विषय हुन थालेको छ । यसको मूल कारण हो, यसको रोकथामका लागि सरकारको उदासिनता देखिनु । यो क्षेत्रमा हैजा फैलिएको झण्डै महिनादिनको हाराहारीमा पुगेको छ । यतिका दिनसम्म यो नियन्त्रणमा आएको छैन । समाचारअनुसार झन् फैलिँदै गइरहेको छ । हैजाजस्तो विषयमा भएजति साधनस्रोतको प्रयोग गरेर सरकार नियन्त्रणका लागि तत्कालै लाग्नुपर्ने हो । तर त्यो देखिएन । यसले केन्द्रीय राजधानी कुन दिनदेखि आक्रान्त हुने हो भन्ने त्रास उत्पन्न हुनु स्वाभाविक हो । खासगरी वर्षयाममा केन्द्रीय राजधानी तराईभन्दा बढी नै हुनेगरी डुबानमा पर्छ । विज्ञहरूका अनुसार हैजा फैलनुको यो पनि एउटा प्रमुख कारण हो । तर यस्तो नहोस् भन्नेमा सरकारको तयारी देखिएन । राजधानीमा एक पटक यो महामारी फैलियो भने यहाँको अनियन्त्रित भीडका बीचमा यो कति भयावह होला भन्ने अनुमान गर्न सकिन्छ ।
अहिले वीरगन्जमा गृहमन्त्री सुरक्षा निकायका चिकित्सकको टोलीसहित हैजापीडित क्षेत्रमा पुगेका छन् । बताइएअनुसार उनको यो टोलीले त्यहाँ हैजा संक्रमित बिरामीको अवस्था र हैजा नियन्त्रणका लागि अपनाउनुपर्ने आवश्यक तयारीका विषयमा छलफल र समन्वय गर्नेछ । वीरगन्जको यो भयावह अवस्था केन्द्रीय प्रशानसनमा पहिले नै थाहा थियो । जस्तो गएको भदौ ८ गते गृहमन्त्रीकै अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले चिन्ता व्यक्त गरेको हो । यतिबेलासम्म पर्साको वीरगन्जमा फैलिएको हैजा नियन्त्रणबाहिर गइसकेको थियो । एक महिनाअघिदेखि देखिन थालेको हैजाविरुद्ध सुरुमै पहिचान गरेर नियन्त्रणका यावत संयन्त्रहरू प्रयोगमा ल्याइएका भए यो अवस्था नआउन पनि सक्तथ्यो । तर यसलाई सुरुमा केही होइन भन्ने हिसाबबाट लियो । स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पनि वीरगन्ज महानगरपालिकामा फैलिएका हैजाले हजार हाराहारीको संख्यालाई प्रभाव पारिसकेको थियो । लगातार पातलो दिसा हुने, बान्ता आउने, पेट दुख्ने, मिर्गौलामा समस्या देखिने र अर्धचेत हुने समस्या महानगराबट फैलिँदै गाउँपालिकासम्म पुगिसकेको बताइएको छ । उता गाउँमा पुग्ने हैजा यता केन्द्रीय राजधानीमा नआउला भन्ने हुँदैन । अहिले यो क्षेत्रका उपचार केन्द्रहरू सबै भरिभराउ भएका छन् । दैनिक सय/दुई सयको संख्यामा पीडित उपचारका लागि अस्पताल आइरहेका छन् । अस्पतालका भुइँहरूसमेत खाली नरहेका दृश्यहरूले पनि धेरै कुरा बताउँछन् ।
वीरगन्जमा व्यापकरूपले फैलिएको यो हैजा काठमाडौंसम्मै आइपुग्न लागेको चिकित्सकहरूको अनुमान छ । त्यसलाई केन्द्रीय राजधानीमा प्रवेश हुन नदिन सरकारले कुनै तयारी गरेको देखिँदैन । नाकाहरूमा सतर्कता अपनाउँदा पनि धेरै हदसम्म रोकथाम हुन सक्तछ ।
चिकित्सकहरूका अनुसार यसका लक्षणमा लगातार दिसा, बान्ता हुने र बेहोसीको अवस्थामा आउन सक्तछ । हैजाले सबैभन्दा खतरनाक पक्ष हो, समुदायस्तरमा फैलिनु । लामो समयसम्म नियन्त्रणमा नआउँदा वीरगन्जमा यो नागरिक बसोबासको धेरै तल्लो स्तरसम्म पुगेको देखिन थालेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका एक सरुवा रोग विशेषज्ञका अनुसार हैजा ‘भिब्रियो कोलेरा’ नामक जीवाणुका कारण लाग्ने सरुवा रोग हो । हैजा पानीजन्य एक संक्रामक पखाला गराउने रोग हो, जसलाई चिकित्सकीय भाषामा ‘कोलेरा’ भनिन्छ । वर्षा र गर्मीयाममा ‘भिब्रियो कोलेरा’ नामको जीवाणु सक्रिय हुन्छ,, ती जीवाणु दूषित पानी र खानेकुरालाई माध्यम बनाई मानिसमा सर्ने गर्छन् । जतिबढी घनाबस्ती हुन्छ यो फैलिने डर त्यति नै हुन्छ । चिकित्सकका अनुसार हैजाको समयमै उपचार नभए बिरामीको मृत्यु हुन्छ । यसबाट जोगिन अहिलेसम्म न स्थानीय निकाय र न सरकार कसैले पहल गरेका देखिँदैन । यसमा सरकार छिटो सजग बनोस् भन्ने सुझाव दिनुपर्छ ।