विजयकुमार पाण्डेजस्ता दर्जन बढी पत्रकार र डा. सुरेन्द्र केसीजस्ता एक हुल प्रोफेसरहरूलाई यतिखेर ‘समाचार टिप्पणी’ र ‘राजनीतिक विष्लेषण’का लागि दुईटा विषय भ्याई नभ्याई सामाजिक सञ्जालमा भाइरलरूपमा उपलब्ध छन् । (१) मिस्टर प्रचण्डकी अहिलेसम्म गोप्य राखिएकी छोरी रुकुममा भेटिएकी र (२) पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी चारवटी सौता रहेकी । आशा राख्छु यति तातोतातो विषय उपलब्ध भएपछि अब जेलबाहिर रहेका भन्दा जेलभित्र रहेका रवि लामिछाने ८४ का लागि खतरनाक भन्ने टिप्पणी र विष्लेषण गौण हुँदै जाला । हुन त मलाई पनि यस्ता ताताताता विषयमा कलम चलाएर भाइरल हुनमा ऋषि धमलाको गुरु कहलिन लोभ नपलाएको होइन । तर ८४ मा देखाइदिने अभियान र जनमत संग्रहको नारा फलाक्ने (सूर्यबहादुर थापाको जनमत संग्रहमा ४० लाख र रामचन्द्र पौडेलको किर्ते हस्ताक्षरबाट ४० लाख भारतीयलाई नेपाली नागरिकता र ८० लाख बलिया पाखुरी नेपाली नागरिकलाई खाडी मुलुकमा लखेटिएको) जति पनि व्यक्ति, समूह, दलहरू र लेखक, पत्रकार, बुद्धिजीवीहरू छन् ती सबै नेपाल सिध्याएर भुटानहुँदै (सन ५० को असमान सन्धि) सिक्किम पुर्याउने १२ बुँदेका मतियार र भरिया हुन भन्नेमा आफूलाई एक रौँ बराबर पनि कुनै भ्रम र द्विविधा नरहेका कारण त्यस्तो लोभबाट भागेको हुँ । यहाँ भने गत आइतबारको स्तम्भ (असार १ गतेदेखि नियमित)मा आफ्नो कर्म धर्मअनुसार प्रदिप गिरीको स्मृति अवसरमा केही लेखेको जस्तै हालसालै (मासिकको तयारी) स्वर्गारोहण हुनुभएका वासु कोइरालाको स्मृतिमा केही हरफ लेख्न अग्रसर भएको छु ।
बीपी कोइराला नेतृत्वको सशस्त्र क्रान्ति इतिहासमा सामान्य ज्ञान (कखग) राख्ने जोसुकैका लागि पनि वासु कोइरालाको नाम अपरिचित हुन सक्दैन । सुवर्ण शमशेरको ०१८ सालको सशस्त्र क्रान्तिमा गोलीले कान उखेलिएर ज्यान जोगाएर भारत निर्वासनमा पुग्नुभएको १० वर्षपछिको बीपीको सशस्त्र क्रान्तिमा कमान्डरको भूमिकामा हुनुहुन्थ्यो । नेपाली कांग्रेसभित्रका होनहार युवाहरू नरबहादुर कार्की, प्रदीप गिरी, देवेन्द्रलाल नेपाली आदि इत्यादि एउटा ठूलो जमातका प्रेरणाको स्रोत मार्गदर्शक रहने गर्नुभएका सहिद सरोजप्रसाद कोइरालाले समेत बीपीपछि वासुसँग परामर्श र निर्देशन नलिई पार्टी गतिविधिमा एक्सनमा जान मिल्दैन थियो । बीपी बाँचिरहनुभएको समयमा नेपाली कांग्रेस नेतृत्व मर्यादाक्रममा सहिदत्रय सरोजप्रसाद कोइराला, योगेन्द्रमान शेरचन, दिवानसिंह राई जीवित रहँदासम्म गिरिजाप्रसाद कोइरालाको नेतृत्व अगाडि आउन सम्भव थिएन । वासु कोइरालाको नेतृत्व पनि त्यही स्तरमा स्थापित थियो । त्यसै कारण वासुजी नक्खु कारागारमा रहँदाका बखत खुमबहादुर खड्का आफैँ अग्रसर भएर चिर्पटै–चिर्पटले हिर्काएर ढाड भाच्ने प्रयास भएको पंक्तिकार आफैँ एक प्रत्यक्ष साक्षी रहेको हो । प्रदीप गिरीले नक्खुको ओरालोमा मारिएका चार सहिदमा पाँचौँ हुन नपाएका ‘जिउँदो सहिद’ लेख्ने र बोल्ने गर्नुभएको पंक्तिकारलाई वीरगन्ज जेलबाट नक्खु कारागार जीवित पुर्याएपछि वासुजीसँग पहिलो भेट चिनारी भएको हो । नक्खुकारागारको लगभग अढाई वर्षको त्यही संगतको अध्ययन जानकारीले नै मैले ‘सहिद क्याप्टेन यज्ञबहादुर थापा’ र ‘सहिद दिवानसिंह राई’ नामक दुई मोटा पुस्तक लेख्न आँट गरेको थिएँ । जसमा सहिद क्याप्टेनका जेठा सुपुत्र आनन्द थापा र सहिद राईकी जेठी सुपुत्री लक्ष्मी राई (राष्ट्रपति उम्मेदवारमा विद्यादेवीबाट पराजित)को सामग्री संकलनमा निर्णायक योगदान रह्यो ।
विसं २०२९ साल बीपीसँग भेटभए यता (उता कमरेड पुष्पलालसँग नियमित एक वर्ष क्लास र अभानेविसं वनारस शाखाको निर्वाचित समाजसेवा सचिव)को मेरो एक क्षण र एक निमेष पनि यताउति नभई राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लगि संघर्षरत नेपाली कांग्रेसको विगत ५३ वर्षको इतिहासमा दुई जना कांग्रेस नेतृत्वसँग अचम्मको सम्बन्ध घटित भएको थियो । शैलजा आचार्यसँग कुटाकुट (कांग्रेस इतिहासमा चप्पल हानाहान प्रकरण) भएर १४ वर्षको अन्तरालमा (नेपाली पत्रकारितामा जुटाउनेभन्दा फुटाउने प्रवृत्ति हावी) पुनः गाढा मित्रता भएर सहयात्रा । कुवेर शर्मासँग नराम्रोसँग मुख छाडाछाड भएर १५ वर्षको बोल्ती बन्दपछि काठमाडौंमा रहेका बखत हप्तादिन मात्र भेट हुन पाएन भने कुवेरजीको फोन आइहाल्ने । त्यसमा मलाई सुविधा के थियो भने टेक्सी भाडा माग्न पर्दैन थियो । यसमा कांग्रेस पुनर्जागरणका हिसाबले नयाँपुस्ता र आउने पुस्ताका लागि ठूलो काम लाग्ने पाठ्यक्रम छ जसलाई बाँचियो र जाँगर भयो भने अवश्य गुगल गर्ने नै छु । यहाँ भने कुवेरजीसँगको अलिकति प्रसङ्ग कोट्याएर प्रस्तुत स्तम्भको अभीष्ट विषय ‘वासु कोइरालाको शशांक कोइरालासँग अपेक्षा’ शीर्षकमा आइपुग्छु ।
कुवेरजीको कांग्रेस इतिहास पनि १३ वर्षको उमेरमा ०७ सालको क्रान्तिमा क्रान्तिकारीहरूका एक आपसका सूचना एक–अर्कालाई पुर्याइदिने भूमिकाबाट सुरु भएको रहेछ । ०४२ सालको सत्याग्रहमा नक्खुकारागारमा हामीसँगै थियौँ । कृष्णप्रसाद भट्टराई गणेशमानले त्याग्नुभएको प्रधानमन्त्री हुँदा राष्ट्र बैंकको गर्भनर बनिदिन प्रस्ताव राख्नुहुँदा (सामान्य ज्ञान पाठ्यक्रममा नेपालका प्रथम चार्टर एकाउन्टेड) ‘म तपाईँको सुटकेस बोक्न राजनीतिमा आएको होइन, सक्नुहुन्छ भने टिकट दिनुहोला’ भनेर मान्नुभएन र सप्तरीबाट टिकट पाएर सांसद हुनुभयो ।
अर्थमन्त्री हुने उहाँको चाहनामा गिरिजाले भाँजो हालेर बसीखान नदिएपछि (गणेशमान र भट्टराई त लखेटिए, कुवेरको के कुरा) हरियाली पार्टी खोलेर राजा ज्ञानेन्द्रको मन्त्री पनि हुनुभयो । पछि हरियाली पार्टी पनि विघटन गरेर अध्ययन र लेखनमा सीमित रहेका बखत उहाँ र वरिष्ठ वकिलहरूका अभिभावक वकिल कृष्णप्रसाद भण्डारीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एक महिने भ्रमण कार्यक्रम बनाएर आम जनजागरणमा विकसित भएको नवजागरणको स्तर मापन गर्ने विचार लिनुभएछ । त्यसमा उहाँहरूले मेरो साथ खोज्नुभयो । ड्राइभर, एक जना पत्रकार र हामी तीन जनाको टोली सप्तरी राजविराजबाट उद्घाटन भएर विराटनगर, झापा, इलाम, धरान वास बस्दै पत्रकार सम्मेलनलगायतका कार्यक्रम गर्दै पाँचथर ताप्लेजुङका लागि धनकुटा हिले पुग्दा डाइवेटिजलागायत दशथरी रोगका नियमित औषधिका उपभोक्ता गम्भीर बिरामी हुनुभयो र इमरजेन्सी (पूर्वमन्त्री नाताले प्रशासनले पनि साथ दियो) प्लेनबाट काठमाडौं ल्याइपुर्याएर अस्पतालको सात दिन आईसीयू बासपछि थप १२/१५ वर्ष बाँच्नुभयो । उहाँको एउटा नियमित रुटिन महिना–दुई महिनामा बास बस्नेगरी आन्तरिक पर्यटन बन्ने थियो । त्यसका लागि धनकुटा हिले घटनापछि श्रीमती कमला शर्माले रेवतीरमण सुवेदी अनिवार्य साथ हुनुपर्ने (भरोषाको साथी) सर्त राखेकी थिइन् । त्यसका लागि कहिले पोखराको साराङकोट, कहिले काभ्रेको नमोबुद्ध पुग्दथ्यौँ । नगरकोटको कर्ण शाक्यको हिमालयन रिसोर्टमा त हप्तौँ पनि बिताउथ्यौँ । यसै क्रममा चार दिनको कार्यक्रम लिएर चतवनको सौराह पुगेका थियौँ काठमाडौंबाट बसुधा (श्रीमतीजीको फोन आयो :– ‘वासु कोइराला भन्ने कोही व्यक्ति हुनुहुन्छ । तपाइँको पुरानो साथी अरे । वृद्ध र बिरामी पनि हुनुहुन्छ अरे । तपाईँसँग भेट गर्न धेरै मन लागेको छ अरे । महत्वपूर्ण कुरो पनि छ भन्दै फोन नम्बर टिपाउनुभएको छ ।’
वासु कोइराला भन्नेबबित्तिकै नक्खु कारागारमा खुमबहादुर खड्काले चिर्पटले ढाड सेकेको (खड्काले वनारसमा प्रदीप गिरीलाई पिटेर झण्डै मारेका नरबहादुर कार्कीले बचाएका साक्षी शेखर कोइराला)देखि बीपी विचारमा अडिग रहेर डा. रामशरण महतको ‘बीपीको समाजवाद थोत्रो भइसक्यो’ भन्ने कथनको आधारमा गिरिजा नेतृत्वको कांग्रेस सरकारले सारा उद्योग कारखाना कौडीको मूल्यमा (भृकुटी कागज कारखानाबाट उत्पादित कागजबाट जापानले आफ्नो नोट बनाउथ्यो– एक उदाहरण मात्र) बेचेर बलिया पाखुरी नेपाली जनशक्तिलाई वैदेशिक कामदारमा धकेल्न थालेका विरोध गरेका कारण सिके प्रसाई, भिमबहादुर तामाङ वासुजी या भनौँ मजस्ता सारा कांग्रेसी लखेटिएका इतिवृतान्त सिनेमाका पर्दामा जस्तै मानसपटलमा झलझली भयो । श्रीमतीजीले नोट गराएको फोनबाट ‘कहाँ हुनुहुन्छ’ सोधेँ । ‘सर्लाहीको लालबन्दी वृद्ध आश्रममा’ भन्नुभयो । भेटघाट भलाकुसारी नभएको दुई दशकभन्दा बढी भइसकेको थियो । कुवेरजीलाई कमला शर्माको जिम्मा लगाएर एक हप्ताको समय लिएर लालबन्दी बृद्धाश्रम पुगेँ । उमेरले ८० पार गरिसक्नुभएका रोगले सिँढी उक्लिन ओर्लिन असमर्थ स्मरणशक्तिका हिसाबले नक्खु कारागारमा सँगै रहँदाका बखत जस्तैः तरोताजा सात दिनको मेरो त्यो वास कांग्रेस इतिहास अध्ययनका लागि सिङ्गै एउटा विश्वविद्यालय जस्तो थियो । पुरुषोत्तम बस्नेतको बडेमानको कांग्रेस इतिहास पुस्तकमा पनि नआएका धेरै भित्री पात्रहरू नोट गरेँ ।
फर्किने बेलामा भन्नुभयो,– ‘सुवेदीजी ! मैले तपाईँलाई खासरूपमा खोजेको तपाईँको कलम धेरै परिमार्जित तिखारिएको स्थापित भइसकेको छ । मैले भनेको शशांक कोइराला (तत्कालीन महामन्त्री) मान्छन् । कांग्रेसको सिद्धान्त र आदर्शको लागि भएको संघर्षको इतिहास लोप हुँदै गएको छ । देश जनता र प्रणालीका लागि यो दुर्भाग्यपूर्ण अध्याय हो । तपाईँले कमसेकम रामेछाप कठजोरका मोतिलाल श्रेष्ठजस्ता (लगातार १३ वर्ष जेल) सय जना जति कांग्रेसको मूल सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र समाजवादका लागि समर्पित अथक राजनीतिक योद्धाहरूको चिनारीमूलक सय डेढ सय पृष्ठका पुस्तकहरू तयार गरिदिनु होस् । शशांकलाई भनेर तपाईँको पारिश्रमिक र प्रकाशन चाँजो पाँजोको बन्दोवस्त म मिलाउँछु । ’
मैले वासुजीको प्रस्तावमा भनेको थिएँ, ‘तपाईँ कुन दुनियाँमा हुनुहुन्छ, मलाई थाहा भएन । मैले यसमा कोसिस गरेको २० वर्षभन्दा बढी भइसक्यो । प्रदीप गिरीदेखि सुशील कोइराला खुमबहादुर खड्कासम्म दुई दर्जन बढी नेताहरूसँग तपाईँको जस्तै प्रस्ताव मैले राखिसकेको हुँ । तपाईँका सबै कांग्रेसीहरू आजको मितिसम्म आइपुग्दा देश बेच्ने (महाकाली सन्धि) र मानिस बेच्ने (८० लाख बलिया पाखुरी खाडी मुलुकमा) तस्कर, माफिया, विदेशी दलालका भरिया भइसकेका छन् । तै पनि ठीकै छ, कोसिस गरेर हेर्नुहोस् । मेरो त सम्पूर्ण जीवन सिद्धान्त र आदर्शमै तिलाञ्जली भएको (मारियो भनेर छाक छोडिएको) बाचुन्जेल अर्पित रहिरहनेछु । ’
अब त वासु कोइराला पनि रहनुभएन र शशांक कोइराला पनि ‘घुस्याहा नेता’का रूपमा सामाजिक सञ्जालमा भाइरल भइसकेका छन् । अस्तु ।