काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइनको बाँकी काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् ।
प्रसारणलाइनअन्तर्गत सुर्खेतदेखि बाँकेको कोहलपुरसम्म बनेका विभिन्न संरचनाको निरीक्षण गर्दै शनिबार उनले जनस्तरमा देखिएका समस्या समाधान भइसकेकाले अब निर्माणमा ढिलाइ गर्न नहुने बताए । मुख्यमन्त्री कँडेलले आउँदो तिहारसम्म प्रसारणलाइनअन्तर्गत ‘फिल्ड’को काम सकेर सबस्टेसनमा विद्युत् जोड्ने गरी काम सम्पन्न गर्न आयोजना कार्यालयलाई निर्देशन दिए । उनले सुर्खेत र कोहलपुरस्थित १३२ केभी प्रसारणलाइनको सबस्टेसन, गाभर निर्माणाधीन टावर अवलोकन गर्नुका साथै बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा प्रसारणलाइनका कर्मचारीसँग बाँकी कामबारे छलफल गरे ।
चिसापानी गाभरमा सरोकार भएकासँगको छलफलमा सङ्घीय वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी पनि सहभागी थिए । मुख्यमन्त्री कँडेलले संस्थागत क्षमता बढाएर कामलाई छिटोछरितो सम्पन्न गर्नतर्फ ध्यान दिन आग्रह गरे । उनले निकुञ्जका कर्मचारीलाई कर्णालीवासीको दिनचर्यासँग जोडिएको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा देखिएको अवरोधलाई स्थानीयस्तरबाटै समाधान गर्न पहलकदमी लिन जोड दिए । वन शाहीले अधिकतम प्राथमिकतामा राखेर काम अघि बढाइए पनि केही ढिला हुन पुगेको बताए । ‘मन्त्रालयका तर्फबाट गर्नुपर्ने काम हामी गर्छौं, गरिरहेकै छौँ । बाँकी समस्या देखिए लेखेर पठाउनुस्, मन्त्रालयस्तर र मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने भए गर्छौं, काम कुनै पनि कारणले रोकिनुहुँदैन’, उनले भने ।
छलफलमा बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन अशोक रामले रुख कटान गरिसकेकाले काठ ल्याउन र बाँकी रूख कटान र ढुवानीमा ढिलाइ नगर्ने प्रतिबद्धता जनाए । आयोजना प्रमुख रवि चौधरीले १६२ वटा टावरमध्ये तीनवटा मात्र निर्माण गर्न र १० किमी लाइन तान्न बाँकी रहेको जानकारी दिए । बाँके बानियाँभारमा खेतको पानीले गर्दा टावरको जग खन्न ढिलाइ भएको र पानी कम हुनेबित्तिकै यसलाई पूरा गरिने उनको भनाइ छ ।