काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रहरुमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारद्वारा आगामी नोभेम्बर १७–१८ मा सुदूरपश्चिमको धनगढीमा अयोजित ‘सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन’को तयारीस्वरुप शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित बैठकमा उनले सुदूरपश्चिम प्रदेश प्रकृतिको सुन्दरताले भरिपूर्ण र प्राकृतिक स्रोत एवम् सम्पदाले सम्पन्न रहेकाले यस क्षेत्रमा लगानी गरेर मुनाफा कमाउन वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गरेकी हुन् । नेपालस्थित विभिन्न देशका राजदूत एवम् प्रतिनिधिहरु समेत उपस्थित सो बैठकमा मन्त्री डा राणाले सुदूरपश्चिम प्रदेश नेपालकै समृद्धिको प्रवेशद्वार भएको बताइन् । जलविद्युत् एवम् नवीकरणीय ऊर्जा, कृषि, पर्यटन, सीमापार व्यापार, सहरी पूर्वाधार, सूचना प्रविधि र डिजिटल पूर्वाधार, खानी र प्राकृतिक स्रोतमा आधारित उद्योगहहरुको प्रशस्त सम्भावना रहेको उनले जानकारी दिइन् ।
मन्त्री डा राणाले जलस्रोत, उर्वर भूमि र नदीहरु, घना जंगल, अद्वितीय जैविक विविधता एवम् सांस्कृतिक सम्पदाहरुको घरका रुपमा रहेको यस प्रदेश स्रोत र साधनले सम्पन्न भए पनि बत्तीमुनिको अँध्यारोको अवस्थामा रहेको बताइन् । उनले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले आवश्यक पर्ने कानुनहरुमा पनि संशोधन गरेको स्पष्ट पारिन् । मन्त्री डा राणाले मुलुक सङ्घीयतामा गएसँगै सुदूरपश्चिम प्रदेश सरकारले पनि यस क्षेत्रको विकासका लागि सङ्घीय सरकारको मुख ताक्ने नभएर आफ्ना सम्भावनाहरुको खोजी आफैँले गरी विकासका मोडलहरु अघि बढाउनुपर्नेमा जोड दिइन् ।