काठमाडौं । फोन–पे र अलि–पे प्लसबीच सम्झौता भएको छ । नेपालको अग्रणी पेमेन्ट सिस्टम अपरेटर फोन–पेले अलि–पे प्लस (अलि–पे +)सँग साझेदारी गरेको हो । सम्झौतासँगै फोन–पेले आफ्नो इन्टेरोपेराबल क्यूआर नेटवर्कमार्फत अन्तरदेशीय भुक्तानी स्वीकृत गर्न सक्षम भएको छ । यसले नेपालको डिजिटल रूपान्तरण र अन्तरदेशीय व्यापार–व्यवसायतर्फको यात्रामा नयाँ अध्याय थपेको कम्पनीले जानकारी दिएको छ ।
साझेदारी सम्बन्धमा कम्पनीको बिहीबार सम्पन्न भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक, अलि–पे प्लसका प्रतिनिधि, नेपाल पर्यटन बोर्ड, बैंक तथा वित्तीय संस्थानका प्रतिनिधिहरू, टुर अपरेटर तथा गाइडहरू, प्रमुख सञ्चारगृह तथा व्यावसायिक समुदायका व्यक्तित्वहरू उपस्थित रहेका थिए । साझेदारीपश्चात् अब चीन, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, फिलिपिन्स, थाइल्यान्ड, जर्मनी, इटालीलगायतका ११ भन्दा बढी देशका अन्तर्राष्ट्रिय पर्यटकहरूले आफ्ना देशका ई–वालेटहरू जस्तैः अलि–पे, काकाओ–पे, जीक्यास, टच एन्ड गो, अलि–पेएचके, ट्रुमनी, टिनाबा— प्रयोग गरी नेपालमा सजिलै क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । अब यी भुक्तानी सुविधा नेपालभरका १७ लाखभन्दा बढी फोन–पे क्यूआर भएका व्यवसायहरूमा उपलब्ध हुनेछ । यसले पर्यटकहरूलाई नगद बोकेर हिँड्नुपर्ने वा मनी एक्सचेन्जको ठाउँ खोज्नुपर्ने झन्झटबाट मुक्त गर्दै सहज, सुरक्षित र सुविधाजनक अनुभव दिने कम्पनीले जनाएको छ ।
कार्यक्रममा एन्ट इन्टरनेसनलका दक्षिण–पूर्वी एसिया, दक्षिण एसिया र एएनजेड क्षेत्रका जनरल म्यानेजर एडवर्ड युएले नेपालको डिजिटल भुक्तानी र पर्यटन उन्नतिमा योगदान गर्न पाएकोमा गर्व लागेको बताए । अलि–पे प्लसले नेपालको बढ्दो डिजिटल पूर्वाधारलाई थप सुदृढ बनाउँदै, भुक्तानी प्रणालीलाई आर्थिक अवसर, सांस्कृतिक सम्बन्ध र पर्यटन समृद्धिको माध्यम बनाउन सक्छ, जसले स्थानीय व्यवसायी र अन्तर्राष्ट्रिय उपभोक्ता दुवैलाई फाइदा पुर्याउनेछ’, उनले भने । यसैगरी फोन–पेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले अलि–पे प्लस र फोन–पे नेटवर्कको एकीकरणले विश्वव्यापी इन्टेरोपेराबिलिटी र वित्तीय समावेशनतर्फ ठूलो कदम चालेको बताए ।
यो सम्झौताले नेपाल भ्रमण गर्ने अन्तर्राष्ट्रिय यात्रुहरूलाई सजिलो बनाउने मात्र होइन, हाम्रो व्यवसायीलाई थप उपभोक्तासम्म पहुँच दिलाउनेछ, त्यो पनि कुनै अतिरिक्त जटिलता बिना’, उनले भने । फोने–पे र अलि–पे प्लसबीचको यो सहकार्यले नेपाल र एसिया–प्रशान्त क्षेत्रबीचको सांस्कृतिक र आर्थिक सम्बन्ध अझ मजबुत बनाउने पनि कम्पनीले बताएको छ ।