काबुल । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अफगानिस्तानले गम्भीर स्वास्थ्य संकटको सामना गरिरहेको चेतावनी दिएको छ । यहाँ दुई करोड २० लाख मानिसलाई तत्काल सहायता आवश्यक छ ।
डब्लूएचओका अनुसार आर्थिक अभावले क्लिनिकहरू बन्द भएका छन् र सामूहिक शरणार्थी फिर्तीले पहिले नै कमजोर स्वास्थ्य प्रणालीलाई डुबाउने खतरा सिर्जना गरेको छ । अफगानिस्तानका चार करोड ६० लाख मानिसमध्ये दुई करोड २० लाखभन्दा बढीलाई तत्काल सहायताको आवश्यकता रहेको डब्लूएचओले बताएको छ ।
देशको स्वास्थ्य प्रणाली पहिले नै कमजोर रहेको र अहिले पतनको संघारमा पुगेको छ । बिहीबार जारी गरिएको रिपोर्टअनुसार यस वर्ष एक करोड ६० लाखभन्दा बढी अफगानलाई जीवन बचाउने सहायता पुर्याउने लक्ष्य राखिएको छ, तर आवश्यक कोषको केवल २४ प्रतिशत मात्र सुरक्षित भएको छ ।
कोष संकटका कारण चार सय २० भन्दा बढी स्वास्थ्य सुविधा बन्द हुँदा करिब ३० लाख मानिस आवश्यक चिकित्सा सेवाबाट वञ्चित भएका छन् । महिला र बालबालिकालगायत कमजोर समूहहरू सबैभन्दा बढी प्रभावित भएका छन् । डब्लूएचओले मातृ र बाल स्वास्थ्य समस्याहरू, व्यापक कुपोषण, दादुरा र पोलियोजस्ता रोगहरूको प्रकोपले गम्भीर खतरा सिर्जना गरेको चेतावनी दिएको छ । साथै, बढ्दो मानसिक स्वास्थ्य चुनौतीले जनसंयामा ठूलो प्रभाव पारिरहँदा मानवीय आपत्काललाई अझ जटिल बनाएको छ ।
अफगानिस्तानले ठूलो मात्रामा आप्रवासीको फिर्तीको तयारी पनि गरिरहेको छ । सन् २०२५मा १० लाखभन्दा बढी मानिस पाकिस्तानबाट र २० लाखसम्म इरानबाट फर्कने अनुमान गरिएको छ । अहिलेसम्म आठ लाख ३६ हजारभन्दा बढी अफगानहरू फर्किसकेका छन् । तीमध्ये ९२ प्रतिशत इरानबाट आएका छन् । बढ्दो संकटले अपर्याप्त अन्तर्राष्ट्रिय कोषले अफगानिस्तानको मानवीय आपत्काललाई कसरी बिगारिरहेको छ भन्ने कुरा देखाउँछ । तत्काल सहयोगविना, लाखौँ मानिसले रोग, भोकमरी र चिकित्सा सेवाको अभावमा रोक्न सकिने मृत्युको सामना गर्न सक्ने डब्लुएचओले चेतावनी दिएको छ । विश्वव्यापी समुदायलाई सहायता योगदान बढाउन डब्लुएचओले आग्रह गरेको छ । रासस/एएनआई