अमेरिका । कृत्रिम बुद्धिमत्ता (एआई)ले अमेरिकामा २२ देखि २५ वर्ष उमेर समूहका कर्मचारीहरूलाई विस्थापित गर्न थालेको छ । सन् २०२२को अन्त्यदेखि एआई–सम्बन्धित व्यवसायहरूमा रोजगारी १३ प्रतिशतले घटेको देखिएको हो ।
यो अध्ययन स्ट्यानफोर्ड विश्वविद्यालयका अर्थशास्त्री एरिक ब्रिनजोल्फसन, भारत चन्द्र र रुयु चेनले संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो पेरोल प्रोसेसिङ कम्पनी अटोमेटिक डाटा प्रोसेसिङको तथ्यांक प्रयोग गरी गरेका हुन् । अध्ययनले सन् २०२५ जुलाईसम्मका दशौँ हजार कम्पनीको रोजगारी ढाँचा ट्र्याक गरेको थियो ।
अध्ययनको निष्कर्षले पहिलो पटक ठूला स्तरमा च्याटजिपिटीजस्ता उत्पादक एआई उपकरणहरूले रोजगार बजारलाई पुनः आकार दिइरहेको प्रमाण प्रस्तुत गरेको छ ।
अध्ययनमा भनिएको छ, ‘जेनेरेटिभ एआईलाई व्यापकरूपमा अपनाएपछि सबैभन्दा बढी एआई–सम्बन्धित व्यवसायहरूमा प्रारम्भिक क्यारियरका कामदारहरूले कम्पनीस्तरका अन्य प्रभावहरू नियन्त्रण गरिसकेपछि पनि रोजगारीमा १३ प्रतिशत गिरावटको अनुभव गरेका छन् ।’
यसमा जागिर कटौती नै मुख्य कारण रहेको र तलब कटौती माध्यमिक भएको उल्लेख गरिएको छ । यी परिवर्तनहरूको सबैभन्दा ठूलो असर युवा सफ्टवेयर विकासकर्ताहरू र ग्राहक सेवा प्रतिनिधिहरूले बेहोरेका छन् । बाइसदेखि २५ वर्ष उमेरका सफ्टवेयर विकासकर्ताहरूको रोजगारी सन् २०२२को अन्त्यमा देखिएको शिखर अवस्थाबाट झण्डै २० प्रतिशतले घटेको छ भने सोही पेसामा वृद्ध कामदारहरूको रोजगारी स्थिर वा बढ्दो देखिएको छ ।
लेखकहरूले एआई–प्रभावित रोजगारीमा युवा कामदारहरूको गिरावटलाई समग्र कार्यबलमा हुने आगामी ठूलो परिवर्तनको प्रारम्भिक चेतावनी संकेतका रूपमा व्याख्या गरेका छन् । शोधकर्ताहरूले ३५ देखि ५० लाख कामदारको मासिक पेरोल रेकर्डको विश्लेषण गर्दै रोजगारी वर्गीकरणलाई अघिल्लो शैक्षिक अध्ययनहरूद्वारा परिभाषित एआई एक्सपोजर सूचकसँग जोडेका छन् । नतिजामा, एआईले कार्य स्वचालित गर्ने व्यवसायहरूले रोजगारीमा तीव्र गिरावट भोगे भने एआईले मानव क्षमतामा सहयोग गर्ने कामहरूले निरन्तर वृद्धिको अनुभव गरे ।
यो समय सन् २०२२ नोभेम्बरमा च्याटजिपिटीको सुरु हुने अवधिसँग मेल खान्छ, जसले अमेरिकी कार्यस्थलहरूमा एआई उपकरणहरूको तीव्र प्रयोगलाई गति दियो । सन् २०२५को मध्यसम्ममा, अमेरिकी सर्वेक्षणमा सहभागीमध्ये ४६ प्रतिशतले आफ्ना कार्यस्थलमा ठूला भाषा मोडेल प्रयोग गरेको बताएका छन् ।
यद्यपि अध्ययनले एआईको प्रभाव व्यवसायको प्रकारअनुसार निकै फरक पर्ने देखाएको छ । स्वास्थ्य सहयोगी, नर्सिङ सहायक र अन्य कम एआई–प्रभावित भूमिकाहरूमा युवा कामदारहरूको रोजगारी बढेको छ । एआईले मुख्यतया विद्यालयमा सिकाइने संहिताबद्ध ज्ञानलाई प्रतिस्थापन गर्छ, तर कार्य अनुभवबाट प्राप्त मौन ज्ञानलाई भने प्रतिस्थापन गर्न सक्दैन भन्ने शोधकर्ताहरूको सुझाव छ । रासस/सिन्ह्वा