वीरगञ्ज (पर्सा) । गृहमन्त्री रमेश लेखकले आइतबार जिल्ला प्रशासन कार्यालय, पर्सामा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् ।
गृहमन्त्री लेखकले स्थानीय प्रशासन, भन्सार कार्यालय, तीनवटै सुरक्षा संयन्त्रसहित सरोकारवाला सबै निकायबीच एकापसमा समन्वय र सहकार्य गरी अवैध चोरीपैठारी र निकासी रोक्न निर्देशन दिएका हुन् । उनले सीमा क्षेत्रमा हुने अवैध चोरी तस्कर र अन्य आपराधिक गतिविधि न्यूनीकरणका लागि आवश्यक पहलकदमी गर्न अनुरोध गरे ।
“राजस्व चुहावट नियन्त्रणका लागि सबै सरोकारवाला निकायबीच आपसी समन्वय गरेर अघि बढ्नका लागि अनुरोध गर्दछु”, उनले भने, “एक निकायले अर्को निकायलाई दोषारोपण गरेर नभइ समन्वयसहित सहकार्य गर्न जरुरी छ ।”