खजुरा (बाँके) । नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखाद्वारा नेपालगन्जमा आयोजित दुईदिने जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई आइतबार उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताबिच हार्दिकता आवश्यक रहेको बताएका छन् ।
कार्यकर्तामा हार्दिकता अभाव हुँदा आमनिर्वाचनमा त्यसको प्रभाव पर्ने गरेको उल्लेख गर्दै उपसभापति गुरुङले यस्ता प्रशिक्षणले तल्लो तहमा रहेका कार्यकर्तामा हार्दिकता जोड्ने धारणा राखे । कांग्रेसको सिद्धान्तप्रति प्रतिबद्ध गराउन प्रशिक्षण अत्यन्तै जरुरी रहेको उनले बताए ।
आपसी समन्वय र सहकार्यमार्फत जनचाहना अनुसार कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै उपसापति गुरुङले सहकार्यको अभावमा गन्तव्यमा पुग्न नसकिने उल्लेख गरे । पार्टीभित्र र बाहिर पनि आवश्यकता अनुसार सहकार्य गर्दै जानु पर्ने उनको भनाइ छ ।