रुपन्देही , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीको सचिवालय बैठकले ९ जना आकांक्षीमध्ये थापालाई उम्मेदवार घोषणा गरेको हो। उम्मेदवार छनोटका लागि रास्वपाले १२ भदौ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म अनलाइन प्राइमेरी इलेक्सन आयोजना गरेको थियो। अनलाइन भोटिङमा सबैभन्दा बढी मत प्राप्त गरेपछि थापा उम्मेदवार बनेका हुन्।
उपनिर्वाचनका आकांक्षीहरूमा थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री थिए। डा. थापा एमबीबीएस, इन्टरनल मेडिसिनमा डिएम र न्युरोलोजीमा एमडी गरेका वरिष्ठ न्युरोलोजिस्ट हुन्। हाल उनी नेसनल न्युरो सेन्टर, महाराजगञ्ज काठमाडौंमा न्युरोलोजी विभाग प्रमुखका रूपमा कार्यरत छन्। साथै, उनी नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्षसमेत हुन्।