जनकपुरधाम , धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२०, देवपुरा रूपैठामा आइतबार दुई समुदाय र प्रहरीबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले ३० राउन्ड हवाई फायर र ३१ सेल अश्रुग्यास प्रहार गरेको खुलेको छ। धनुषाका प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीका अनुसार झडप नियन्त्रणका क्रममा १४ डमी गोली र ११ राउन्ड पेस्तोलबाट हवाई फायर गरिएको हो। अश्रुग्यासका ३१ सेल प्रयोग गरिएको उनले जानकारी दिए। झडपमा परी स्थानीय २९ वर्षीय लक्ष्मण मुखिया प्रहरीको गोली लागेर घाइते भएका छन्। उनको दुवै घुँडामा गोली लागेको र उपचार भइरहेको जनाइएको छ। त्यस्तै, ढुंगामुढाका कारण सात जना प्रहरी घाइते भएका छन्। उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। शनिबार पनि गणेश पूजाको मूर्ति विसर्जनका क्रममा झण्डाचोकमा विवाद भएपछि झडप भएको थियो। आइतबारको घटनामा भने झण्डाचोकमा गाडिएको टावरलाइट पोलमा बाँधिएका दुईवटा हरियो झण्डा हटाउने विषयमा वादविवाद तीव्र बन्दै गएपछि स्थिति हिंसात्मक बनेको प्रहरीले जनाएको छ। स्थिति अहिले नियन्त्रणमा रहेको जनाइएको छ तर तनाव भने कायमै छ।