काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको समस्या कायमै देखिएको छ । सोही कारण केन्द्रीय बैंकले आइतबार ५५ अर्ब रुपैंयाँ तानेको छ । मौद्रिक उपकरण बिक्री गरेर राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुबाट उक्त रकम खिचेको हो ।
आइतबार बोलकबोलको माध्यमद्वारा उक्त परिमाणमा रकम तानिएको हो । यसको परिपक्व हुुने अवधि २१ दिन तोकिएको छ भने असोज ५ मा सावाँ र व्याज भुक्तानी हुने केन्द्रीय बैंकले जनाएको छ । खरिदकर्ताहरुको लागि घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जानेगरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सीमा तोकिएको थियो ।
यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोको रुपमा समेत राख्ने सकिने राष्ट्र बैंकको भनाइ छ ।
सुकिला नोटको सटही भदौ २९ बाट
नेपाल राष्ट्र बैंकले यही भदौ २९ गतेबाट सुकिला नोटको सटही सुविधा दिने भएको छ । आगामी दशैंमा नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग, थापाथलीसहित प्रदेशस्थित कार्यालयहरुबाट सुकिला नोट लिन सकिनेछ ।
यसअनुसार विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सुकिला नोटको सटही सुविधा प्रदान गर्ने राष्ट्र बैंकको भनाइ छ । यसबाहेक वाणिज्य बैंक, विकास र फाइनान्स कम्पनीका शाखा कार्यालयहरूबाट सर्वसाधारणलगायत विभिन्न संघसंस्थालाई यही भदौ २९ गतेदेखि यही असोज १० गतेसम्म सुकिला बैंक नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको जानकारी राष्ट्र बैंकले दिएको छ ।
