मानिसको आधारभूत आवश्यकता भनेका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीजस्ता कुरा हुन् र यदि यी पूरा हुन सक्दैनन् भने त्यो अवस्थालाई गरिबी भनिन्छ । आधारभूत आवश्यकताहरूको अभावमा जीवन चलाउनै सकिँदैन । त्यस कारण अहिले विश्वबाट नै गरिबी निवारण गर्नुपर्दछ भन्ने अभियान नै चलाइएको पाइन्छ ।
मानिस बाँच्नको लागि आवश्यक पर्ने कुराहरूको अभाव हुन नदिने हो भने सरलरुपमा जीवन चलाउन सकिन्छ । अतिकम विकसित मुलुकहरूले गरिबी निवारणलाई महत्वका साथ अघि सारेका देखिन्छन् । यद्यपि, गरिबी घटेको देखिँदैन । गरिबी घटाउन अन्तर्राष्ट्रियस्तरमा विभिन्न अभियान कार्यान्वयनमा ल्याइएका पनि छन् र धेरै लगानी भएको अवस्था पनि छ । तर पनि गरिबी निवारण कार्यक्रमले सफलता पाउन सकेको छैन ।
नेपालले गरिबी घटाउने सन्दर्भमा विभिन्न आवधिक योजनामा उल्लेख गरेको देखिन्छ र कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका देखिन्छन् । यद्यपि, गरिबी भने घट्न सकेको छैन । अहिले पनि २० प्रतिशतभन्दा बढी जनसंख्या गरिबीको रेखामुनी रहेको छ । यति ठूलो जनसंख्या मानवीय आधारभूत आवश्यकताबाट बाहिर रहनु भनेको राज्यको लागि ठूलो चुनौती हो ।
नेपालमा अहिले गरिबी चुनौतीको रुपमा रहेको छ । देश गरिबीको दुष्चक्रबाट बाहिर जान सकेको छैन । यही कारणले गर्दा गरिबी बढ्दै गएको छ । गरिबीकै कारणबाट ठूलो जनसंख्या वैदेशिक रोजगारीको लागि विदेश पलायन भएको छ । उनीहरूले पठाएको पैसाले घर परिवार धानिएको छ । प्रत्येक महिना करिब एक खर्बभन्दा बढी विप्रेषण भित्रिने गरेको छ । यसरी आएको रकमलाई उत्पादनशील क्षेत्रमा लगानी प्रवाह हुन सकेको छैन । ६८ प्रतिशत रकम उपभोगमा र बाँकी ३२ प्रतिशत अन्यत्र खर्च भएको कुरा तथ्यांकले देखाउँछ । गरिबी घटाउनको लागि त उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने हो । एकातिर लगानी बढाउन नसक्ने अर्कोतर्फ उपभोगमा बढी खर्च गर्ने प्रवृत्तिको विकासले गरिबी घट्न नसकेको अहिलेको अवस्था हो । गरिबीको वृत्त नतोडिकन गरिबी घट्न सक्दैन । गरिब भएको हुनाले लगानीको लागि बचत हुँदैन । बचत नै छैन भने लगानी गर्ने कुरै भएन । लगानीको अभावमा कसरी उत्पादन हुन सक्छ र ? उत्पादन नै नभएपछि त्यसबाट प्रतिफल पनि नहुने नै भयो । प्रतिफल नभएपछि आम्दानी हुँदैन । आम्दानी नभए पछि बचत गर्ने कुरा पनि भएन । यसरी गरिबीको चक्र अर्थतन्त्रको वरिपरि घुमिरहेको हुनाले ठूलो जनसंख्या गरिबीको रेखामुनी रहेको छ ।
गरिबी कुनै एक देशको मात्र समस्या नभएर विश्वकै ठूलो समस्या हुनगएको छ । सबै मुलुकले गरिबी निवारण गर्न प्रयत्नशील भए पनि खासै सुधार हुन सकेको छैन । गरिबी निम्त्याउने शिक्षा, स्वास्थ्य, रोजगारीको अभावजस्ता कारण भए पनि अन्य धेरै कारण देखिन्छन् । समय समयमा आउने बाढी, पैरो, भूकम्प आदि कारणहरूले गर्दा पनि गरिबी न्यूनीकरण गर्न नसकिएको हो ।
गरिबी घटाउन विश्वमा नै युद्धस्तरमा कार्य भएका छन् । यद्यपि, अपेक्षित उपलब्धि हुन सकेको देखिँदैन । गरिबी घटाउन नसकिएको हुनाले हुने र नहुनेबीचको खाडल विस्तार हुँदै गएको छ । विडम्बना के देखिन्छ भने हुने र नहुनेबीचको खाडल कम गर्न विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गरिएका हुन्छन् । तर, लक्षित उपलब्धि हाँसिल गर्न नसकिएको हुनाले गरिबी न्यूनीकरणमा खासै उपलब्धि हुन सकेको छैन ।
गरिबी न्यूनीकरण गर्नको लागि सरकारी तथा गैरसरकारी तहमा लामो समयदेखि विभिन्न कार्यक्रम सञ्चालन भई आएका छन् । विभिन्न अन्तर्राष्ट्रिय संघ संगठनहरूबाट सहयोग प्राप्त भई नै रहेको छ । ऋण तथा अनुदान पनि आई नै रहेको छ । आन्तरिक साधन स्रोत पनि परिचालन भएको अवस्था छ । यस्तो अनुकूल अवस्थामा पनि गरिबी निवारण हुन सकेको छैन । यो नै अहिले चिन्ता र चासोको विषय बनेको छ ।
कुनै पनि देशको मूल उद्देश्य विकास गर्ने नै हुन्छ । कुनै एक क्षेत्रको विकास गरेर सर्वांगीण विकास हुन सक्दैन । विकास भनेको नै गरिबी न्यूनीकरण गर्ने हो । यदि कुनै देशमा गरिबी छैन भने त्यहाँ विकास भएको हुन्छ । हामी कहाँ विकास नभएको हुनाले नै गरिबी भएको देखिन्छ ।
गरिबी सबै क्षेत्रसँग जोडिने भएकोले कुनै एक मन्त्रालयको प्रयासले मात्र सम्भव हुँदैन । यसको न्यूनीकरण गर्नको लागि सबै मन्त्रालयले प्रयास गर्नुपर्दछ । एउटा मन्त्रालयले सञ्चालन गरेको कार्यक्रममा अर्को मन्त्रालयले सहयोग गरेन भने गरिबी घटाउन सकिँदैन । गरिबी घटाउनको लागि सबै पक्ष र क्षेत्रको उत्तिकै सहयोग र समन्वयको आवश्यकता पर्दछ ।
गरिबी न्यूनीकरण गर्नको लागि शिक्षाको विकास गरिनु पर्दछ । रोजगारमूलक शिक्षा नभएको हुनाले शिक्षित बेरोजगारको संख्या डरलाग्दो अवस्थामा पुगेको छ । स्वदेशमा रोजगारीको अवसरको अभावमा ठूलो जनसंख्या विदेश पलायन भएको छ । शिक्षित जनशक्तिको अतिरिक्त उत्पादनशील श्रमशक्ति पनि वैदेशिक रोजगारीको लागि पलायन भएको अवस्था छ । यस्ता जनशक्तिलाई स्वदेशमा नै बस्ने वातावरण निर्माण गर्न सकियो भने स्वतः गरिबी हट्ने सम्भावना देखिन्छ । कोरा शिक्षित जनशक्ति उत्पादन गर्नुभन्दा व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड दिनु पर्दछ । जुन जनशक्ति उत्पादनशील क्षेत्रमा खपत हुन सकोस् ।
गरिबी घटाउने कार्य शिक्षाको विकासबाट मात्र सम्भव हुँदैन । मानिस स्वस्थ भयो भने उसले काम गर्न सक्दछ । देशका दुर्गम स्थानमा अझै पनि स्वास्थ्य सेवाको पहुँच छैन । सहर बजारमा पनि स्वास्थ सेवा महँगो हुँदै गएको छ । सामान्य मानिसको पहुँच बाहिर भएको हुनाले स्वास्थ्य सेवामा धेरै काम गर्न बाँकी नै छ । जबसम्म मानिस स्वस्थ हुँदैन उसबाट कुनै पनि काम लिन सकिँदैन । त्यस कारण स्वस्थ्य सेवाको विकास गरेर गरिबी न्यूनीकरण गर्न सकिन्छ ।
नेपालको अधिकांश भाग पहाडी भू–भाग भएको कारणले गर्दा बाढी, पहिरो, भूकम्प, अतिवृष्टिजस्ता प्राकृतिक प्रकोपबाट धन जनको क्षति हुने गरेको छ । यी कारणहरूले पनि गरिबी बढाउने काम गरेका छन् । नदी किनारका बस्तीमा आएको बाढीले पु¥याएको क्षति र भूकम्पले पु¥याएको नोक्सानीको तस्बिर हामीहरू सबैले देखी आएकै छौँ । त्यस कारण यस्ता प्राकृतिक विपत्तिको न्यूनीकरण गर्न सकियो भने गरिबी घटाउन सकिने हुन्छ ।
रोजगारीको अभावमा आम्दानीको सम्भावना हुँदैन । आम्दानी नभएपछि मानिस गरिब हुनु स्वाभाविकै हो । देशमा औद्योगिक वातावरण निर्माण हुनसक्यो भने दक्ष, अदक्ष श्रमशक्ति स्वदेशमा नै खपत हुन्छन् र गरिबी न्यूनीकरण हुन सक्दछ । रोजगारी नभएपछि मानिसको हातमा पैसा हुँदैन र पैसा नै नभएको कारणबाट मानिस गरिब हुँदै जान्छ ।
गरिबी घटाउन नसक्नुमा अर्को कारण भनेको जनसंख्या वृद्धिलाई लिन सकिन्छ । भएको श्रमलाई उपयोगमा ल्याउन नसकिरहेको अवस्थामा थप जनसंख्याले बेरोजगारीमा वृद्धि गराएको हुन्छ । तर जनसंख्या वृद्धि हुँदैमा गरिबी बढ्ने भने होइन । मुख्य कुरो भनेको वृद्धि भएको जनसंख्यालाई रोजगारी दिनसक्नु पर्दछ ।
नेपालमा खेतीयोग्य जमिन, पुँजी, उपकरणजस्ता कृषि सामग्रीको कमीका कारणले कृषिले जीवन धान्न समेत सकिएको छैन । यसले गर्दा कृषिप्रधान देश भए पनि कृषिमा आत्मनिर्भर हुन सकेको छैन र कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान करिब २३ प्रतिशतभन्दा बढी छैन । जीवीकोपार्जन पनि हुन नसकेको कृषिलाई व्यवसायीकरण गरी आवश्यक पूर्वाधारको विकास गर्नुपर्दछ । जसबाट गरिबी न्यूनीकरण हुन सक्दछ ।
मानिसमा श्रम गर्ने क्षमता भए पनि सीप, दक्षता, साधन, स्रोत, प्रविधिको कमीको कारणले उत्पादनमा कमी आएको अवस्था छ । जीवन निर्वाह गर्नको लागि समेत उत्पादनले नपुग्ने भएकोले मानिस स्वतः गरिबीको चक्रमा परेको छ । कृषिमा आधुनिकीकरण गरेर उत्पादनमा वृद्धि गरेर गरिबीलाई न्यूनीकरण गर्नुपर्दछ ।
हुने र नहुनेबीच ठूलो अन्तर देखिन्छ । धनी मानिस धनी हुँदै गएको छ भने गरिब झन्झन् गरिब हुँदै गएको छ । जो गरिब छ उसले जीवन चलाउन ऋणमा भर पर्नु पर्दछ । ऋण बढ्नु भनेको गरिबीमा वृद्धि हुनु हो । यसरी गरिब हुन सजिलो भएकोले हामी गरिब बनिरहेका छौँ र धनी हुन कठिन भएकोले धनी हुन नसकेकोे अहिलेको अवस्था हो ।
अहिले विकासका पूवार्धारहरूको अभाव छ । सडक, सिँचाइ, सञ्चार, विद्युत्जस्ता सुविधाको कमीले आर्थिक क्रियाकलाप सीमित भएका देखिन्छन् । आर्थिक गतिविधिमा वृद्धि गरेर गरिबी न्यूनीकरण गर्नुपर्दछ । देशको अर्थतन्त्र आत्मनिर्भर हुन सकेको छैन र सबै आवश्यकता आयातबाटै पूर्ति गर्नुपरेको छ । यसले गर्दा सरकारको ढुकुटीमा भएको विदेशी मुद्रा पनि बाह्य भुक्तानीमा नै खर्च भएको छ । यस्तो अवस्था सिर्जना हुनु भनेको आन्तरिक उत्पादनमा वृद्धि नहुनु हो । आन्तरिक उत्पादनमा वृद्धि गरेर निर्यात बढाउन सकेको भए गरिबी पनि कम हुँदै जाने थियो । तर एक रुपैयाँको निर्यात भएको छ भने १० रुपैयाँभन्दा बढीको आयात भएको छ । यस्तो आर्थिक गतिविधिले गरिबी घटाउनुको सट्टा बढाउने गर्दछ ।
नेपाल अतिकम विकसित मुलुकमा पर्दछ । अतिकम विकसित मुलुकमा पर्नु भनेको मानिसको लागि खान, लाउन र बस्नको लागि न्यूनतम सुविधाको अभाव हुनुलाई लिइन्छ । खान नपाएर मानिसको मृत्यु नभएको होला । लाउन नपाएर नाङ्गै हुन नपरेको होला । र घर नभएर खुला आकाशमा बस्न नपरेको होला । तर पनि एउटा मानिसले उपभोग गर्न पाउने आधारभूत आवश्यकताबाट भने वञ्चित हुनुपरेको छ । यसको लागि सरकारी तहबाट आर्थिक अवसरको उपलब्धता, सीपमूलक शिक्षाको अवसर, स्वास्थ्य सेवामा सवैको पहुँच, पूर्वाधार विकासमा जोड, सामाजिक सुरक्षाजस्ता कार्यक्रम कार्यान्वन गरी आएको अवस्था पनि रहेको छ । यद्यपि यस्ता कार्यक्रमबाट जति उपलब्धि हाँसिल गर्नुपर्ने हो त्यति भएको छैन ।
खास गरेर नेपालमा गरिबीको विस्तार तल्लो तहमा तीव्र गतिमा भएको छ । भुइँमान्छे अर्थात् लक्षित वर्गले जति फाइदा लिनु पर्दथ्यो त्यति लिन नसकेको अवस्था छ । कार्यक्रम कार्यान्वयनमा देखिएका अवरोध समयमा नै समाधान गर्न सकियो भने गरिबीलाई न्यूनीकरण गर्न सकिने हुन्छ । थोरै मानिसको हातमा धेरै सम्पत्ति र धेरै मानिसको हातमा थोरै सम्पत्ति भएको हुनाले आर्थिक असमानता बढ्दै गएको छ । अवको उपाय भनेको कष्टकर जीवनयापन गरिरहेका वर्गलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरी गरिबी न्यूनीकरण गर्नु पर्दछ ।