काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड र सेल–पे प्रालिबीच ग्राहकहरूलाई डिजिटल प्रविधिमार्फत बीमा सेवा उपलब्ध गराउने समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका उपप्रमुख कार्यकारी अधिकृत विश्वोजन थापा श्रेष्ठ र सेल–पे प्रालिका प्रमुख कार्यकारी अधिकृत निरजकुमार शुक्लाले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार ग्राहकलाई आफ्ना आवश्यकताअनुरूप बीमाशुल्कसम्बन्धी सम्पूर्ण जानकारी अनलाइनमार्फत सेल–पेले उपलब्ध गराउनेछ । सेल–पेमार्फत विस्तृत बीमाशुल्कको जानकारी प्राप्त भइसकेपछि ग्राहकहरूले सेल–पेबाट बीमा पोलिसीको लागि अनुरोध गर्नसक्नेछ र ट्रस्ट माइक्रो इन्स्योरेन्स लिले ग्राहकहरूको अनुरोधबमोजिम बीमा सेवा उपलब्ध गराउनेछ । यसरी ग्राहकहरूले अनलाइनबाट नै बीमाको सेवा प्राप्त गर्न सक्नेछन् ।
यस कदमले डिजिटल माध्यममार्फत बीमा सेवाको पहुँचलाई थप व्यवस्थित, सरल र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ । यो सम्झौता तथा सहकार्यले डिजिटल बीमा प्रविधिमा महत्वपूर्ण कदम चालेको दुवै कम्पनीका प्रतिनिधिहरूको धारणा छ । साथै यसले ग्राहकको विश्वास वृद्धि गर्ने मात्र नभई दुवै कम्पनीलाई दिगोरूपमा फाइदा पुर्याउने अपेक्षा गरिएको छ । ट्रस्ट माइक्रो इस्स्योरेन्सले हालसम्म मोटर, सम्पत्ति, दुर्घटना बीमा सेवा उपलब्ध गराउँदै आएको छ र कृषि बीमा सेवा पनि उपलब्ध गराउने प्रकृयामा रहेको छ ।