काठमाडौं । शेयरबजार परिसुचक नेप्से दोहोरो अंकले उकालो लागेको छ । अघिल्लो दिन उच्च अंकले ओरालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार १२ दशमलव तीन अंकले उकालो लागेर २७ सय ६१ दशमलव ८६ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७४ अंकले उकालो लागेर चार सय ७६ दशमलव ३८ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय २६ वटा कम्पनीहरुको ६८ हजार सात सय ७५ पटकको कारोबारमा एक करोड १४ लाख ४० हजार आठ सय ४४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम पाँच अर्ब १० करोड ५७ लाख ४६ हजार छ सय ५७ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये व्यापार र अन्य उपसमुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।