काठमाडौं । सञ्चालनमा रहेका २० मध्ये १० ठुला वाणिज्य बैंकको कर्जाको गुणस्तर परिक्षण अर्थात लोन पोर्टफोलियो रिभ्यु बंगलादेशी कम्पनीले गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अगस्ट २८, २०२५ मा हउलादार युनुस एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स ढाका बंगलादेशलाई १० वटा वाणिज्य बैंकको कर्जाको गुणस्तर परीक्षण गर्न जिम्मेवारी दिइएको हो ।
कर्जाको गुणस्तर परीक्षणको राष्ट्र बैंकले बंगलादेशको उक्त कम्पनीलाई भ्याटबाहेक ६२ लाख ५४ हजार नौ सय १२ रुपैयाँ र अमेरिकी डलर दुई लाख ७१ हजार छ सय ७० दशमलव पाँच सेन्ट बुझाउनुपर्नेछ । कुल चार करोड ४४ लाख ७४ हजार तीन सय १६ रुपैयाँमा बंगलादेशी कम्पनीलाई लोन पोर्टफोलियो रिभ्योको जिम्मा दिइएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
सम्झौताअनुसार बंगलादेशको उक्त कम्पनीले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, कुमारी बैंक र एनएमबी बैंकको कर्जाको गुणस्तर परीक्षण गर्नेछ ।
सम्झौता कार्यान्वयनको अवधि पाँच महिना तोकिएको छ । उक्त पाँच महिनामा बंगलादेशी कम्पनीले १० वटा बैंकको कर्जाको गुणस्तर परीक्षणसम्बन्धी प्रतिवेदन राष्ट्र बैंकलाई बुझाइसक्नुपर्ने छ । गुणस्तर परीक्षणको लागि कुल एक सय अंकमा ७१ दशमलव ३४ अंक तोकिएको छ ।