चीन । साङ्घाई सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
राष्ट्रपति पुनिलसँगको भेटमा दुई देशको आपसी सम्बन्धका विविध आयामबारे कुराकानी भएको छ । उच्चस्तरीय भ्रमणको आदानप्रदान र आर्थिक, शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि, लगानीलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको जनाइएको छ ।
त्यस्तै, कम्बोडियाका प्रधानमन्त्री डा. महानेटसँगको भेटमा दुई देशबीचको सम्बन्ध, व्यापार र लगानीका क्षेत्रहरुको विस्तारलगायत विषयमा छलफल भएको थियो । भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियोे । उनीहरूबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा पूर्वउपप्रधानमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।