काठमाडौं । जननायक बीपी कोइराला स्मृति ट्रस्टले वरिष्ठ साहित्यकार डा. बेन्जु शर्मा र अर्जुन खड्कालाई पुरस्कार प्रदान गर्ने भएको छ ।
ट्रस्टले प्रत्येक वर्ष बीपी जन्मजयन्तीका अवसरमा बीपी कोइराला स्मृति साहित्य सम्मान पुरस्कार र बीपी कोइराला स्मृति प्रजातन्त्र सेनानी सम्मान पुरस्कार प्रदान गर्ने गरेको छ । यस वर्षको बीपी साहित्य सम्मान पुरस्कार, वरिष्ठ साहित्यकार डा. बेन्जु शर्मा (काठमाडौं) प्रदान गर्ने निर्णय गरेको ट्रस्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिए । यो पुरस्कारको राशि नगद एक लाख एक हजार तथा सम्मानपत्र रहेको छ । त्यसैगरी, बीपी सेनानी सम्मान पुरस्कार, प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योगदान पुर्याउने उदयपुरका अर्जुन खड्कालाई प्रदान गर्ने निर्णय गरेको महासचिव पोखरेलले बताए । यस पुरस्कारको राशि नगद एकाउन्न हजार तथा सम्मानपत्र रहेको छ ।
दुवै पुरस्कार जननायक बीपी कोइराला स्मृति ट्रस्ट पुरस्कार छनौट समितिका संयोजक रामचन्द्र पोखरेल, सदस्यहरु किरण यादव र हरिप्रभा श्रेष्ठ खड्गीको निर्णयबाट प्रदान गरिएको हो । दुवै सम्मान पुरस्कारहरु राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भदौ २४ गते मंगलबार राष्ट्रपति कार्यालय, शितलनिवास, काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने छ ।